सर्लाहीको चुरेक्षेत्रमा चितुवाको त्रास

रेडियो गौशाला , ४३४  पटक हेरिएको

सर्लाही- जिल्लाको ईश्वरपुर नगरपालिका–१२ घारीबथानको चुरेभेगमा केही दिनदेखि चितुवाले खोरमै आएर बाख्रा मार्न थालेपछि स्थानीय किसान आतंकित बनेका छन्।

घारीबथानस्थित चुरेजंगलका बस्तीहरू गुइडुङ, अड्डी, छ्याङछ्याङ्गेलगायत क्षेत्रमा खोरमा पसेर चितुवाले बाख्रा मार्न थालेपछि स्थानीय त्रसित भएका हुन्।

गुइडुङका लालबहादुर थिङका अनुसार एक्कासी देखा परेको एउटा चितुवाले एक साताभित्र १० वटा बाख्रा मारेर खाएको छ। चितुवाले आफूसहित लालबहादुर घलान, पूर्णबहादुर थिङ, बुद्धिमान स्याङतान, विष्णु योञ्जन, पूर्णबहादुर थिङ र दयामाया थिङको बाख्रा मारिसकेको लालबहादुरले जानकारी दिए।

चितुवा देखा परेको घारीबथानका यी चुरेबस्ती उत्तरतर्फ सिन्धुलीसँग र पूर्वतर्फ महोत्तरीसँग सीमा जोडिएको क्षेत्र हो। बाख्रापाठा पालेर जीविकोपार्जन गर्ने चुरेको विकट बस्तीमा प्रत्येक रात चितुवा आएर बाख्रा मार्न थालेपछि मानिसलाई समेत आक्रमण गर्ने त्रास रहेको गुइडुङका अर्का स्थानीय वीरबहादुर थिङले बताए।

रातको समयमा खोरखोर चहार्दै हिँड्ने चितुवालाई स्थानीयले हो–हल्ला गरेर भगाउने गरेका छन्।

ईश्वरपुर नगरपालिका–१२ का वडाध्यक्ष देवीबहादुर खत्रीले चितुवाले बाख्रा मार्न थालेको भनी स्थानीय बासिन्दाले आफूलाई फोनबाट जानकारी गराएको बताए। चितुवा देखिएको क्षेत्रमा पुग्न चुरेको फेदीबाट डेढदेखि दुई घण्टासम्म उकालो डाँडा चढेर जानुपर्ने उनले बताए।

यही चितुवाले केही समयअघि गुइडुङदेखि पश्चिमतर्फ पर्ने लालबन्दी नगरपालिका–१५ शीरकालिञ्जोर क्षेत्रमा पनि आतंक मचाएको थियो। चुरेभेगमै पर्ने लालबन्दी नगरपालिका–१४, नारायणखोलामा पनि वर्षेनिजसो चितुवा आएर बाख्रा मार्ने गरेको स्थानीयले बताएका छन्।

प्रकाशित मिति: २०२३-०२-१७ , समय : ०९:३७:३५ , १ वर्ष अगाडि