औरहीमा पिकअपको ठक्करबाट एक बालिकाको मृत्यु

रेडियो गौशाला , ७३१  पटक हेरिएको

महोत्तरी- महोत्तरीमा पिकअपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

बिहिवार दिउँसो महोत्तरीको औरही नगरपालिका – ७ भोएल स्थित बर्दिवास-जलेश्वर सडक खण्डमा पर्ने सोनामाई मन्दिर अगाडी प्र २-०२-००१ च०५०२ नम्बरको पिकअपले बाटो क्रस गर्ने क्रममा करिब ६ वर्षीया बालिकालाई ठक्कर दिँदा मृत्यु भएको मुचुल्का टोलि इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।

पिकअपको ठक्करबाट घाइते भएकी बालिकाको उपचारको क्रममा औरही नगरपालिका १ स्थित औरही बजारमा रहेको राधाकृष्ण स्वास्थ चौकीमा मृत्यु भएको हो।

बालिका औरही नगरपालिका – ७ भोएल स्थित सोनामाई मन्दिर अगाडी रहेको श्री सोनामाई आधारभूत बिधालयबाट छुट्टि भएर घरजाने क्रममा बाटो क्रस गर्ने बेला दुर्घटना भएकोछ। ठक्कर दिने पिकअप करिब ४ किलोमिटर दक्षिण औरही नगरपालिका ८ टिम्कियामा छोडेर चालक फरार भएको प्रहरीले जानकारी दिएको छ।

ठक्कर दिने पिकअप ईलाका प्रहरी कार्यालय रामगोपालपुरको नियन्त्रणमा रहेको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रामगोपालपुरले जनाएको छ।

प्रकाशित मिति: २०२३-०२-१७ , समय : ०९:४९:३५ , १ वर्ष अगाडि