राष्ट्रपतिबाट अरुण चौधरीको कैद मिनाहा, भोलि रिहा हुँदै

रेडियो गौशाला , ५३१  पटक हेरिएको

जनकपुरधाम- प्रतिनिधि सभा सदस्य तथा नागरिक उन्मुक्ति पार्टीका सचेतक अरुण कुमार चौधरीको कैद मिनाहा गरिएको छ।

कैलाली कारागारमा रहेका चौधरीलाई फागुन ७ गते प्रजातन्त्र दिवसका दिन कारागारबाट छुटाउन राष्ट्रपतिको कार्यालयले उनको सजाय मिनाह गरेको हो।

Advertesmentad
राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति प्रकाशित गरी सांसद चौधरीसहित कैलाली कारागारमा रहेका अन्य १४ जनाको पनि कैद मिनाह गरिएको हो।

प्रतिनिधि सभा सदस्य तथा नागरिक उन्मुक्तिका सचेतक चौधरीलाई पक्राउ गरी माघ २० गते जिल्ला अदालत कैलालीमा पेस गरिएको थियो। उनलाई ९ वर्षअघिको आगजनी मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेको थियो।

कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित चौधरी अदालतको फरार सूचीमा थिए।

सांसद चौधरी ट्याक्टरमा आगजनी गरेको कसुरमा जिल्ला अदालत कैलालीबाट सुनाइएको ६ महिना कैद सजाय भुक्तान नगरि फरार सूचीमा रहेका थिए। वि.सं.२०७० बैशाख ९ गते कैलाली जिल्ला अदालतले सांसद अरुण कुमार चौधरी सहित परशुराम चौधरी र बिरबहादुर चौधरी गरी तीन जनालाई ६ महिना कैद सजाय सुनाएको थियो।

८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई क्षतीपुर्ती उपलब्ध गराउने समेत फैसला गरिएको थियो। अदालतले फैसला गरेपनि यस अघि तीन जनालाई पक्राउ गरेर क्षतीपूर्ति उपलब्ध गराउन प्रहरीले कुनै पहल गरेको थिएन। अरुण चौधरी वि।सं। २०७४ सालमा आगजनी भएको ट्याक्टरका संचालक महादेव बजगाईसँगै लम्कीचुहा नगरपालिको मेयर पदमा निर्वाचन लडेका थिए।

कैलाली जिल्ला अदालतमा २०६६ भदौ ३ गते आफ्नो लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा बजगाईले प्रतिनिधि सभा सदस्य रहेको अरुण चौधरीसहित पशुराम चौधरी र बिर बहादुर चौधरीलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए।

उक्त मुद्धामा जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको एकल इजलासले वि.सं. २०७० बैशाख ९ गते तीन जनालाई जनही छ महिना कैद र बिगो रकम असुल्न गर्न आदेश दिएको थियो। अदालतले फैसला गरेर प्रहरीलाई त्यतिबेला नै पत्र पठाए पनि यसअघि प्रहरीले चासो नदिएकाले उनीहरु पक्राउ परेका थिएनन्। जिल्ला अदालतका न्यायधीश डल्लुराम चौधरीको ईजलाशले उक्त निवेदन अस्विकार गर्दै ६ महिना कैद भुक्तान गर्न आदेश दिएको थियो।

प्रकाशित मिति: २०२३-०२-१८ , समय : १४:४९:१९ , १ वर्ष अगाडि