रेडियो गौशाला , ६०३ पटक हेरिएको

जनकपुरधाम- चुरे तथा वन जंगल संरक्षण अभियानले पाँच बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेका छन् । विहीबारदेखि मधेश प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालय अगाडि अनिश्चितकालिन २४ घण्टे धर्नाको कार्यक्रम घोषणा गरेका छन् ।
अभियानको संयोजक सुनिल कुमार यादवले सरकार विगतमा गरेको सम्झौता र वन, जंगल तथा चुरे बचाउने ठोस योजना नल्याउँदा बाध्य भएर आन्दोलन गर्न बाध्य भएको बताए । उनका अनुसार चुरे तथा वन जंगल संरक्षण अभियान र मधेश प्रदेश सरकारबीच भएको सात बु“दे सहमति तत्काल कार्यान्वयन गर्न, अवैध क्रसर उद्योगहरुको गतिविधि उपर रोक लगाइ दिलीप महतोलाई शहीद घोषणा गर्न आवश्यक निर्णय लिन र भूमिहीन तथा सुकुम्बासीलाई बासको आवश्यक पहल गर्नुपर्ने माग अघि सारेका छन् ।
यस्तै, वैदेशिक रोजगारीको समस्या समाधान गरी रोजगारी सुनिश्चित गर्न र स्थानीय तहको निर्वाचनमा दलितको लागि आरक्षणसहित पालिका प्रमुखहरुको निर्वाचन चक्रिय प्रणालीमा व्यवस्था गर्न कानून परिमार्जन गर्न माग गरेका छन् । अभियानद्वारा लामो समयदेखि चुरे, वन तथा जंगल जोगाउन काम गर्दै आएका छन् ।

सरकारले समयमा माग पूरा नगरे कडा रुपमा संघर्षको कार्यक्रमहरु सार्वजनिक गर्ने उनीहरुको चेतावनी छ । उनीहरुले ग्रासरुट मुभमेन्ट र गाउँगाउँमा अभियान सञ्चालन गरी वृहत् आन्दोलन गर्ने तयारीमा छन् । उनीहरुले पटक पटक सरोकारवला निकायलाई ध्यानाकर्षण सहित ज्ञापनपत्र बुझाइसकेका छन् ।
तर, सरोकार वला निकायले उनीहरुको मागप्रति बेवास्ता गरेका छन् । यसअघि मधेश प्रदेशको निवर्तमान मुख्यमन्त्री लाल बाबु राउत नेतृत्वको सरकारले सात बुँदे सहमति गरेका थिए । तर त्यो कार्यान्वयन हुन नसकेको अभियानीहरुको गुनासो छ ।
प्रकाशित मिति: २०२३-०२-२१ , समय : १०:३१:०१ , २ वर्ष अगाडि