रेडियो गौशाला , २१४२ पटक हेरिएको

जनकपुरधाम- मिथिलाको महाकुम्भको रूपमा चिनिने मिथिला मध्यमा परिक्रमा सुरु भएको छ। सोमबार धनुषाको मिथिला बिहारी नगरपालिका कचुरीस्थित मठबाट डोला निस्केसँगै १३३ किलोमिटरको पदयात्रा सुरु भएको हो।
जनकपुरधामस्थित अग्निकुण्डबाट किशोरीजीको डोला र मिथिला बिहारीबाट भगवान रामको डोलासँगै १५ दिनसम्म मिथिलाका विभिन्न धार्मिकस्थलहरूको परिक्रमा गर्ने गरिन्छ।
१५ दिने मिथिला मध्यमा परिक्रमाको क्रममा नेपाल र भारतका विभिन्न स्थानमा श्रद्धालुहरू पुग्ने गर्छन्। सोमबार कचुरीबाट निस्कने परिक्रमाका यात्रु साँझसम्म जनकपुरधामको हनुमाननगरमा पुगेर विश्राम गर्नेछन्।

हनुमाननगरमा विश्राम गरेर मंगलबार भारतको कल्याणेश्वर जानेछन्। हनुमानगढीबाट निस्केपछि मिथिला मध्यमा परिक्रमाको औपचारिक सुरुवात हुन्छ।
परिक्रमाको क्रममा नेपालकोो धार्मिक ऐतिहासिक ठाउँहरूको १०७ किलोमिटर र भारतको २६ किलोमिटर भूभागको यात्रा गरिन्छ।
मिथिला मध्यमा परिक्रमा जनकपुरधामको हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर र औरही पुग्ने छ। पुनः भारतको करुणा, विशौललगायतका धार्मिकस्थल हुँदै १४ औँ दिनमा जनकपुरधाम फर्कने छ।
प्रकाशित मिति: २०२३-०२-२१ , समय : १०:३२:१६ , २ वर्ष अगाडि