पूर्वाधार आयोजनामा कमसल निर्माण सामग्री प्रयोग

रेडियो गौशाला , १२२६  पटक हेरिएको

ललिता साह, सप्तरी । सप्तरीमा भइरहेको विकासको पूर्वाधारमा कमसल सामग्री प्रयोग हुँदै आएको स्थानीय सरकारले गुनासो गरेका छन् । सङ्घीय सरकारको बजेटबाट निर्माण भइरहेका काममा यस्तो गुनासो आएको हो ।

जिल्लाको बलान बिहुल गाउँपालिका–२, चनहीस्थित हुलाकी सडक छेउमै १५ शøयाको प्राथमिक अस्पताल भवन निर्माणको जिम्मेवारी रौता निर्माण कम्पनीले ठेक्का पाएको छ । अस्पताल निर्माणका लागि साइटमा ल्याइएका निर्माण सामग्री कमसल भएको भन्दै स्थानीय तथा जनप्रतिनिधिले गुनासो गरेका छन् । अस्पताल निर्माणका लागि ल्याएका बालुवा, गिट्टी, इँटा तीन नम्बरको भएको स्थानीय युवा कासिन्द्र यादवको भनाइ छ ।

सङ्घीय सरकार स्वास्थ्यतर्फको १६ करोड बजेटबाट निर्माण भइरहेको अस्पताल गत आर्थिक वर्षमै रौतासँग ठेक्का सम्झौता गरिएको हो । कम्पनीले १० महिना ढिलो गरी यही हप्तादेखि नै अस्पताल भवन निर्माणको काम सुरु गरिएको छ ।

वडा नं. ६ का अध्यक्ष सुरजकुमार दासले सोमबार निर्माण स्थल अनुगमन गरी अस्पतालजस्तो संवेदनशील सार्वजनिक भवन कमसल सामग्रीले निर्माण गर्न नदिने बताउनुभएको छ । जनप्रतिनिधिको गुनासोबारे हामी साइटमा खटाइएका इन्जिनियरसँग जानकारी लिएर सुधार गर्ने रौता कन्ट्रक्सनका निर्देशक नरेन्द्र खत्रीले बताउनुभयो ।

कोसी पम्प चन्द्रनहर सिँचाइ व्यवस्थापन कार्यालय राजविराजसँग एडी÷स्वताली जेभी बौद्ध काठमाडौँले १० करोड ५१ लाख ५३ हजार ६८५ रुपियाँमा सम्झौतामा निर्माणाधीन बिहुल नदीको पुलमा पनि समस्या आएको छ । माटोयुक्त गिट्टी र सिमेन्ट कम राखेर काम गर्दै आएको जानकारी पाएपछि पुल निर्माण स्थल पुग्नुभएका वडाध्यक्ष दासले उक्त साइट घन्टौँसम्म बन्द गराइएको भन्नुभयो ।

पुल निर्माण साइटमा एक हप्तादेखि निरन्तर काम हुँदै आएको छ तर सम्झौता गरिएका कार्यालयलाई काम सञ्चालन भए नभएको जानकारी छैन । कोसी पम्प चन्द्रनहर सिँचाइ व्यवस्थापन कार्यालयका डिभिजन इन्जिनियर शिवजी साह भन्नुहुन्छ, “हामीलाई त ठेक्का कम्पनीले काम नै सुरु भएको छैन भनेर भन्नुभएको थियो । यद्यपि जानकारी नै नदिइ काम हुँदैछ भने हामी दुई÷तीन दिनभित्रै साइट भिजिट गर्छौं ।”

जिल्लाको खडक, शम्भुनाथ, बोदेबरसाइन, डाक्नेश्वरी नगरपालिका, महदेवा, तिलाठी कोइलाडी, रूपनी गाउँपालिकालगायत धेरैजसो स्थानीय तहमा सङ्घीय सरकारको बजेटबाट सुरु भएका विकासका पूर्वाधारका संरचनामा कमसल निर्माण सामग्री प्रयोग भएको गुनासो छ । हामी स्थानीय युवाको खबरदारीले खडक नगरपालिकामा निर्माण भइरहेको अस्पतालको कमसल ढलान भत्काएर पुनः निर्माण सुरु गरेका छन् ।

पालिकाभित्र विकास निर्माणको काममा एक रुपियाँ पनि कमिसन नलिएर मजबुत र गुणस्तरीय काम होस् भनेर निरन्तर अनुगमन गर्दै आएको बलान विहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले बताउनुभएको छ ।

प्रकाशित मिति: २०२३-०२-२२ , समय : ०९:१४:२३ , १ वर्ष अगाडि