सामाजिक सञ्जालमा प्रलोभन देखाइ ठगी गर्ने गिरोह बढ्दै

रेडियो गौशाला , १६२७  पटक हेरिएको

सर्लाही — सामाजिक सञ्जालमा एकको तीन अर्थात तीन गुणा बढी पैसा दिने भन्दै ठगी गर्ने गिरोह सर्लाहीको सिमावर्ती क्षेत्रमा सक्रिय भएका छन् । भारतमा बसेर यस्ता ठगी गर्ने गिरोह सक्रिय रहेको र सर्वसाधारण नेपाली ठगिने क्रम बढेको प्रहरी तथ्यांकले देखाएको छ ।

सामाजिक सञ्जाल खास गरी ‘हृवाट्स ऐप’ मार्फत विभिन्न अफरहरु पठाइ सर्वसाधारणलाई सम्पर्कमा ल्याइ ठग्ने गिरोह सक्रिय रहेको फेला परेको हो । भारतमा बसी ठगी गर्ने गिरोहले सामाजिक सञ्जालमार्फत हजारको नोटको बन्डलको फोटो तथा भिडियो बनाइ एकको तीन गुणा रकम दिने भनी प्रलोभन देखाउने गरेका छन् । प्रलोभनमा परेका व्यक्तिलाई विश्वास दिलाइ उनीहरुले आफू अनुककूल सुरक्षित स्थानमा बोलाइ योजनाबद्ध तरिकाले लुटपाट गर्ने गरेको समेत खुलेको छ । उनीहरुले दस लाखको तीस लाख दिने भनी सर्वसाधारणलाई विश्वास दिलाइ बोलाउने गरेकोमा ठगीमा संलग्नले तीस लाखको ३० वटा बन्डलमा भित्र कागज राखी बाहिर दुई वटा हजारको नोट मात्र राखी सर्वसाधारणलाई बुझाइ फरार हुने गरेका छन् । यसरी तीस लाखको प्रलोभनमा परेका व्यक्तिले ६० हजार मात्र पाउने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

जिल्लामा ठगीको घटना देखा पर्न थालेपछि प्रहरी अनुसन्धानमा जुटेको छ । प्रहरी अनुसन्धानले एकै प्रकृतिका घटना दोहोरिन थालेको देखाएको छ । जिल्ला प्रहरी कार्यालयले चार वर्षयता यस्ता ठगी गर्ने गिरोहमा संलग्न ४ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिइसकेको छ । प्रहरीले आइतबार मात्र तीस लाखको बन्डसहित एक हजारको आकारको कागज एक बोरासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरुको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

०७५ साल भदौ ३० गते गोडैता नगरपालिका–३ मधुवनी गाउँबाट प्रहरीले कागजको बन्डलको तल र माथि हजारको दुईवटा नोट राखी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा बरामद गरेको थियो । भारत बिहार सितामढी ग्रामपञ्चायतका सत्रुधन कुमार भगतसहित २ जना पक्राउ परेका थिए । यस्तै, ०७६ साल कात्तिक ५ गते पनि सोही स्थानमा भारतकै मृत्युञ्जयकुमार सिंहसहित अन्य तीन जना मिलेर एकको तीन दिन्छु भनेर ४२ लाख ७५ हजार रुपैयाँ ठगी गरेको प्रहरीमा उजुरी छ । प्रहरीले उजुरीकर्ताको नाम ठेगाना खुलाएको छैन ।

प्रहरीले गत भदौ १७ गते पनि बहादुरपुर जाने बाटोबाट ६९ बन्डल बीचमा कागज राखी तल र माथि हजारको नोट रहेको बरामद गरेको थियो । आइतबार मात्र प्रहरीले सदरमुकाम मलंगवास्थित बोर्डरबाट नेपाली नोटसँग मिल्ने कागजको बन्डल ९९ थान, पैसा आकारको कागज काट्ने मेसिन एक थानसहित २ जनालाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनीहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको सुवेदीले बताए । उनले सीमा क्षेत्रमा यस्ता ठगी गर्ने गिरोह अझैपनि सक्रिय रहेकाले सचेतना बढाइ यस्ता गिरोहको बारेमा प्रहरीमा सूचना दिन पनि आग्रह गरे । ‘एकको तीन दिने भनी ठगी गर्ने गिरोह जिल्लामा सक्रिय छ, केहीलाई नियन्त्रणमा पनि लिइएको छ,’ उनले भने, ‘यस्ता गिरोहबाट सचेत रहनु पर्छ, साथै यस्ता ठगीका घटना आएमा प्रहरीलाई पनि जानकारी गराउन अनुरोध गर्छु ।’

प्रकाशित मिति: २०२३-०२-२७ , समय : ११:५८:२० , १ वर्ष अगाडि