सीके राउतसँग हारेका उपेन्द्र यादवलाई उपचुनाव लड्ने बाटो खुल्यो

रेडियो गौशाला , १३०४  पटक हेरिएको

काठमाडौं- शुक्रबार उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएसँगै बारा–२ खाली भएको छ । जनता समाजवादी पार्टी (जसपा) बाट गएको मंसिर ४ मा बारा–२ बाट प्रतिनिधिसभा सदस्यमा उनी निर्वाचित भएका थिए ।

तर, उपराष्ट्रपति बनेसँगै बारा–२ खाली भएको छ । र, त्यहाँ पार्टी अध्यक्ष उपेन्द्र यादवलाई उपनिर्वाचन लड्दै सांसद बनेर सिंहदरबार छिर्ने अवसर जुरेको छ ।

उपेन्द्र गत निर्वाचनमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग भारी मतान्तरले पराजित भएका थिए । र, उनको संसदको यात्रा रोकिएको थियो ।

यद्यपि, जसपाले यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएर जिताएसँगै उपेन्द्रको रोकिएको संसद यात्रा फेरि सुरु भएको छ । अब हुने बारा–२ को उपनिर्वाचनमा चुनाव जितेर उनी संसदमा छिर्न चाहेका छन् । र, यहिँ रणनीति अपनाएर यादवलाई उपेन्द्रले उपराष्ट्रपति बनाएका हुन् ।

त्यतिबेला उपराष्ट्रपतिमा निर्वाचित यादवले नेकपा एमालेको सहयोगमा बारा २ बाट चुनाव जितेका थिए । तर, अहिले त्यो पूरानो सहयात्रा जारी छैन । आगामी निर्वाचनमा उपेन्द्र कांग्रेस र माओवादी केन्द्रसहितको दलको सहयोगमा उपनिर्वाचन लड्दैछन् ।

मधेशी जनअधिकार फोरमबाट मधेश आन्दोलन र सडक संघर्ष गरेर राष्ट्रिय राजनीतिमा उदाएका उपेन्द्र तीन पटक उपप्रधानमन्त्रीसहित पटक–पटक मन्त्री बनिसकेका छन् । यद्यपि, यो अवधिमा उनलाई सत्तामा मात्र अडिएको नेता भनेर आलोचित गरियो । नभन्दै गएको निर्वाचनमा उनी भारी मतान्तरले हार्न पुगेका थिए ।

तर, त्यो हार फेरि उपनिर्वाचनमार्फत उनी जितमा बदल्न चाहेका छन् । उपेन्द्र ०४८ सालमा सुनसरी–४ बाट चुनाव लडेका थिए । ०६४ र ०७० मा सुनसरी–५ बाट चुनाव लडे । ०७४ मा निर्वाचन क्षेत्र फेर्दै डा. सिके राउतको क्षेत्र सप्तरी–२ मा गएर उम्मेदवारी दिएका उनले हार व्यहोरेका थिए ।

प्रकाशित मिति: २०२३-०३-१७ , समय : १९:४७:५३ , १ वर्ष अगाडि