रेडियो गौशाला ,

वीरगन्ज — आईसीसी क्रिकेट विश्वकप लिग २ एकदिवसीय प्रतियोगितामा खेलेका वीरगन्जका दुई खेलाडीलाई वीरगन्ज महानगरपालिकाले मोटरसाइकल प्रदान गर्ने घोषणा गरेको छ ।
वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले ओपनिङ ब्याट्सम्यान आसिफ शेख र अलराउण्डर आरिफ शेखलाई महानगरको तर्फबाट यामाहा (एफजेड एफ १) मोटरसाइकल एक/एक थान प्रदान गर्ने घोषणा गरेका हुन् ।
मेयर सिंहले नेपाललाई विश्वकपको ग्लोबाल क्वालिफायरमा पुर्याइ राष्ट्रको शीर उच्च बनाउन सफल राष्ट्रिय क्रिकेट टिमका सम्पूर्ण खेलाडीहरुलाई हार्दिक बधाई तथा शुभकामना समेत व्यक्त गरेका छन् ।
‘विश्व मानचित्रमा नेपालको नाम जाज्वल्य पार्ने यस प्रतियोगितमा वीरगन्जका खेलाडीहरु आसिफ र आरिफको महत्त्वपूर्ण योगदान हुनु वीरगन्ज महानगरपालिकाको लागि थप गौरवको विषय हो,’ वीरगन्जका मेयर राजेशमान सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रको गहनालाई सम्मान र प्रोत्साहन गर्नु सबै तहका सरकारको उत्तिकै दायित्व पनि हो ।’
आगामी दिनमा अझ राम्रो प्रदर्शनको अपेक्षा राख्दै वीरगन्जका दुबै खेलाडीलाई थप प्रोत्साहन र हौसला स्वरुप महानगरपालिकाको तर्फबाट मोटरसाइकल प्रदान गर्ने घोषणा गरिएको मेयर सिंहले बताएका छन् ।
प्रकाशित मिति: २०२३-०३-१७ , समय : १९:४९:०७ , ६ महिना अगाडि