नवनिर्वाचित उपराष्ट्रपति यादवलाई प्रमाणपत्र प्रदान

रेडियो गौशाला , ६३३  पटक हेरिएको

काठमाडौं- नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई निर्वाचन आयोगले उपराष्ट्रपति पदमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले नवनिर्वाचित उपराष्ट्रपति यादवलाई प्रमाणपत्र प्रदान गरेका हुन्।

मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि शुक्रबार भएको मतदानमा यादव निर्वाचित भएका हुन्। आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झालाई पराजित गर्दै यादव उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।

उपराष्ट्रपति यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताले बधाई दिएका छन्।

उपराष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ।

उपराष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छन्। सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ।

आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो। मतदानमा ३११ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए।

यादवले ३० हजार ३२८ मतभार प्राप्त गरे। यस्तै अष्टलक्ष्मी शाक्यले १६ हजार ३२८ मत प्राप्त गरिन् भने ममता झाले २ हजार ५३७ मतभार प्राप्त गरिन्।

उपराष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम रहेका थियो। मतदानमा ३११ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्य सहभागी भएका थिए।

पूर्वमन्त्रीसमेत रहेका यादवलाई जसपा नेपालसहित नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायत सत्तागठबन्धन दलहरूको समर्थन रहेको थियो।

नेपालको संविधानमा उपराष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने उल्लेख छ। यसैगरी दुई पटक उपराष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन नसक्ने संवैधानिक प्रावधान छ।

प्रकाशित मिति: २०२३-०३-१७ , समय : १९:५३:०४ , २ वर्ष अगाडि