रेडियो गौशाला , १२३१ पटक हेरिएको

काठमाडौं- राहदानी विवादमा सरकारी वकिलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ‘क्लीन चिट’ दिने तयारी गरेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले रविमाथि लागेको आरोप पुष्टि हुन नसक्ने निष्कर्षसहित दुई दिनअघि सरकारी वकिल कार्यालय, काठमाडौंमा रायसहितको प्रतिवेदनमा बुझाएको छ ।
प्रतिवेदनमा लामिछानेले झुटो विवरण पेश गरेको पुष्टि नहुने भएकाले उनीमाथि मुद्दा चलाउनु नपर्ने प्रहरीको राय छ ।

कुनै पनि फौजदारी कसुर हुने जाहेरीका आधारमा मुद्दा नचल्ने भएमा प्रहरीले पेश गरेको प्रतिवेदनमाथि जिल्ला सरकारी वकिलले निर्णय गर्नुपर्ने व्यवस्था छ । यसरी हुने निर्णय उच्च सरकारी वकिलको कार्यालय, पाटन हुँदै महान्यायाधिवक्ता कार्यालय पुग्ने गर्छ ।
महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ताको रायसहितको फाइल महान्यायाधीवक्ता समक्ष पेश हुन्छ र महान्यायाधिवक्ताको निर्णय अन्तिम हुन्छ । लामिछानले २०५० साल फागुन १० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सुरुमा नागरिकता प्रमाणपत्र लिएका थिए ।
अमेरिका गएपछि उनले २०७० साल फागुनमा त्यहाँको नागरिकता प्राप्त गरेका थिए ।
अमेरिकाको नागरिकता पाएपछि २०७२ वैशास २८ मा उनी नेपाल फर्किएका थिए । उनले २०७२ साल जेठ १३ गते नेपाली राहदानी लिएका थिए ।
लामिछाने नेपाल फर्कंदा अमेरिकाको नागरिकता त्यागेका थिएनन् । १३ माघ २०७९ मा सर्वोच्च अदालतले विदेशको नागरिकता लिनेहरुको नेपाली नागरिकता कायम नरहने व्याख्या गरेपछि ‘कायम नभएको’ नेपाली नागरिकता देखाएर लामिछानेले नेपाली राहदानी लिएको भन्दै अनुसन्धान गर्न प्रहरीमा उजुरी परेको थियो ।
प्रकाशित मिति: २०२३-०३-१८ , समय : ०८:५६:२६ , २ वर्ष अगाडि