ऋणीको सम्पत्तिमा साहुको आँखा

रेडियो गौशाला , ५९३  पटक हेरिएको

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–५, लक्ष्मीपुरकी अमरुल खातुन निरक्षर छन् । उनको परिवारमै कोही साक्षर छैन् । उनले छोरा मरसद मन्सुरलाई विदेश पठाउन रामस्वरुप रायसँग दुई लाख ऋण लिइन् । साहुले नपत्याएपछि उनले आफूसँग भएको तीन कठ्ठा खेत पास गरी ऋणको जोहो गरिन् र छोरालाई विदेश पठाइन् । तर विदेशमा छोराले राम्रो काम नपाएपछि वर्ष दिन नबित्दै साउदीबाट फर्किनु प¥यो । अमरुलले गाउँमै केही गर्ने उद्देश्यले सोही साहुलाई थप एक लाख ऋण दिन अनुरोध गरिन् । तर साहुले पत्याएन् । त्यसपछि उनले बसोबास गरिरहेको (घर भएको)आठ धुर घडेरी साहुको नाममा पास गरेर एक लाख रुपैयाँ लिइन् । अहिलेसम्म उनले साहुलाई तीन लाख ३० हजार र चार लाख ८० हजार गरी दुई पटकमा आठ लाख १० हजार तिरिसकेको दाबी गर्छिन् । तर साहुले खेत र घडेरी फिर्ता गर्न मानेका छैनन् । उल्टै उनले अदालत जाने धम्की दिन्छन् । साहुले खेत र घडेरी कब्जा गर्ने नियत राखेर फिर्ता नगरेको उनले बताइन् । अमरुलका अनुसार साहुले तीन लाख मात्रै पैसा लिँदा पनि १२ लाखको कागज बनाएका छन् । ‘साहु होइन् पापी हो । पीडित मान्छेलाई मार्ने काम गरेको छ,’ उनले भनिन्, ‘तीन लाख रुपैयाँ लिएको छँु तर १२ लाखको कागज (कपाली तमसुक)बनाएको छ । अब खेत र घडेरीमा आँखा लगाएका छन्’

खेत पनि साहुको कब्जामा

अमरुललाई रामस्वरुप साहुले खेत–घडेरी ‘बेइमानी’ गर्नसक्ने शंका लाग्यो । ऋण तिर्न र बिरामी हुँदा उपचार गराउन उनले अर्को साहु सत्यनारायण कानुसँग चार लाख ऋण लिइन् । त्यो साहुले पनि नपत्याउँदा उनले दश कठ्ठा खेत पास गरिदिइन् । अहिले सत्यनारायणले दश कठ्ठा मध्ये पाँच कठ्ठा बिक्री गरिसकेको उनको कथन छ । तर अझै १५ लाख उनले माग गरिरहेका छन् । नभए अदालत जाने र थप सम्पत्ति कब्जा गर्ने उनले पनि धम्की दिइरहेका छन् । ‘प्रहरीमा निवेदन दिएको थाहा पाएपछि घरमै धम्की दिन आउँछन्,’ उनले भनिन्, ‘१५ लाख नदिए बेघर बनाइदिने भन्दै दिनहुँ थर्काउँछन् ।” प्रतिवाद गर्दा र गाउँलेलाई बसाएर तिरेको बारे सुनाउँदा साहुले उल्टै घर खाली गराउन भन्छन् ।

पाँच वर्षदेखि छिमेकीको शरणमा

सर्लाही ईश्वरपुर नगरपालिका–५ की कमला दाहाल झन् पीडित छन् । उनी मिटरब्याजी साहुकै कारण पाँच वर्षदेखि बेघर छन् । उनले दुई पटकमा गाउँकै सञ्जय साह रौनियारबाट साढे चार लाख ऋण लिएकी थिइन् । त्यसक्रममा सञ्जयले खाली कागजमा सही गर्न लगाएको उनको आरोप छ । घर भएको आफ्नो चार कट्ठा जग्गा दृष्टिबन्धक राखेर लिएको ऋण चुक्ता नगरेको भन्दै साहु रौनियारले पाँच वर्ष पहिले घर खाली गराइदिएको उनको भनाइ छ । घरसहितको घडेरी फिर्ता गर्न साहुले २० लाख रुपैयाँ माग गरेको उनले बताइन् ।

अदालतमा मुद्दा

सरकारले मिटरब्याजविरुद्ध उजुरी गर्न आह्वान गरेपछि अदालतमा लेनदेन मुद्दाको चाप एकदमै बढेको देखिएको छ । विगतको तुलनामा लेनदेनसम्बन्धी मुद्दा दोब्बर भएको देखिन्छ । जिल्ला अदालत धनुषामा चालु फागुन महिनामा (२८ गते सम्म) मात्रै १ सय ९६ वटा मुद्दा दर्ता भएको अदालतका श्रेस्तेदार विकास बस्नेतले जानकारी दिए । उनका अनुसार लेनदेन मुद्दाको संख्यामा तुलनात्मक रुपमा वृद्धि भएको छ । तर पहिले पनि कुल मुद्दाको ५० प्रतिशत लेनदेनसम्बन्धी मुद्दा नै अदालतमा आउने गरेको उनले बताए । चालु आर्थिक वर्षमा १ हजार १ सय ९५ मुद्दा दर्ता भएको छ ।

समस्या लियो, समाधान गरेनन्

मिटरब्याजी पीडित किसान मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाहाले सरकारले समस्या सुन्ने काम मात्रै गरेको तर समाधान गर्न नसकेको उनले बताए । ‘सरकारले मिटरब्याज पीडितसँग गुनासो संकलन ग¥यो तर समाधान गरेनन्,’उनले भने, ‘अहिले पीडितले उजुरी गरेको थाहा पाएपछि पीडकहरू धमाधम अदालतमा गइरहेको छ । सरकारले हामीसँग गरेको सम्झौता पनि कार्यान्वयन गरेका छैन् ।’

प्रकाशित मिति: २०२३-०३-१८ , समय : ०९:३३:३८ , १ वर्ष अगाडि