अमेरीकन र चाइनिज पेस्तोलसहित दुई युवक प्रहरीको फन्दामा

रेडियो गौशाला , ८०९  पटक हेरिएको

जनकपुरधाम- सप्तरीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले दुई युवकलाई पेस्तोलसहित नियन्त्रणमा लिएको छ ।

आइतबार दिउँसो करिब १ बजे सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका १ खाडोखोला स्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त चेकिङ्ग टोलीले छिनमस्ता गाउँपालिका २ महुवा बस्ने २८ वर्षीय सोनु रायलाई अमेरिकन र चाइनिज पेस्तोलसहित नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

पक्राउ परेका रायलाई सोधपुछ गर्दा पेस्तोल दिने अर्का युवक राजबिराज नगरपालिका १ डुमरी बस्ने २८ वर्षीय रोशन यादव समेत पक्राउ गरिएको प्रहरीले जनाएका छन् ।

प्रहरीले रायलाई चेक जाँच गर्दा कम्मरमा इलासटिकले बाधी राखेको अवस्थामा मेड इन यूएसए र अर्को पट्टी चाइना लेखेको अटोमेटिक म्यागजिन सहितको पेस्तोल १ थान बरामद गरेको छ ।

रायलाई प्रारम्भिक सोधपुछ गर्दा सप्तरीकै राजबिराज नगरपालिका १ डुमरी बस्ने २८ वर्षीय रोशन यादवले उक्त पेस्तोल दिएको भनी खुलाएको हुँदा उनलाई पनि पक्राउ गरि थप अनुसन्धान थालेको प्रवक्ता सिंहले जानकारी दिए ।

प्रकाशित मिति: २०२३-०३-२० , समय : ०७:५१:५९ , १ वर्ष अगाडि