रेडियो गौशाला ,

जनकपुरधाम- मुआब्जाको माग गर्दै स्थानीयबासीहरुले सिर्सिया सुक्खा बन्दरगाह दुई घण्टा ठप्प गरेका छन् । सो क्रममा स्थानीय महिलाहरुको एक समूह एकाएक सुक्खा बन्दगाह मूलद्वारमा पुगेकी थिइन् । बन्दरगाहका गार्डहरु हेर्दा नहेर्दै उनीहरु आवागमनलाई ठप्प पार्दै मूलद्वारमै धर्ना बसे, मांग थियो ‘हाम्रो जग्गाको मुआब्जा देउ’ ।
लगभग एक दशक देखि सिर्सियाका स्थानीय आफ्नो जग्गाको मुआब्जा पाउनका लागी सघर्षरत छन् । तर, सरकारी काम कहिले जाला घाम जस्तै बनेको छ । मुआब्जाको काम कछुवाको गतिमा चलेको छ । सुरुमा गाउँलेहरु उचित मूल्याकंनको लागि बर्षौसम्म सघर्षरत रहे । २०७३ सालमा केबिनेटको निर्णयबाट मूल्यांकन तोकियो । तर, मुआब्जा अहिलेसम्म कतिपयले पाएका छैनन् । मूल्यांकनमा पनि व्यापक भेदभाव गरिएको स्थानीय बैजयन्ती मालाको आरोप छ । उनी भन्छिन,‘एक त सरकारले गजराका मोलमा जग्गा लियो, तर पनि पांच बर्ष बितिसक्दा हामी मुआब्जा पाउन सकेका छैनौं ,जग्गाहरुको भाउ अकासिदो छ , थातथलो सहित सर्नुपर्ने हो ,अब कसरी जग्गा किन्ने ,कतिपयको घरमा पैसा बिना उपचार र छोरीहरुको बिहेबारी हुन सकेका छैन ।’ धर्ना र आन्दोलनको कारण सुक्खा जग्गाको आवागमन २ घण्टा ठप्प पारेपछि सुरक्षाकर्मी पनि व्यापक परिचालन गरिएको थियो ।
वीरगञ्ज महानगरपालिका–२५ सिर्सियाबासीको प्रदर्शनले अति व्यस्त रहने गरेको यो बन्दरगाहमा २ घण्टा मालबाहक सवारीको आवागमन अवरुद्ध भएपछि राजमार्गसम्म जाम लागेको थियो । मुलुककै लाइफलाइनको रुपमा रहेको यो राजमार्गबाट सुक्खा बन्दरगाहसंगै रहेको आइसिपि भन्सार कार्यालयबाट आयात हुने मालसामानहरु मुलुकमा प्रवेश हुने गरेको छ । अवस्था तनावपूर्ण बन्दै गएपछि बन्दरगाह स्थित भन्सार कार्यालय प्रमुख जयबहादुर भण्डारीले धर्ना स्थलमा पुगेरै मुलुक अर्थमन्त्री विहीन भएको सुनाउदै धर्ना स्थगित गर्न हार गुहार गरे । धर्नामा बसेकाहरुको माग जायज रहेको बताउदै वर्तमान सरकारमा अर्थमन्त्री आउने बितिकै मुआब्जाको लागि बजेट निकासाको प्रयास गरिने बताउदै उनले जग्गाधनीलाई प्रदर्शन रोक्न आग्रह समेत गरे ।
अर्थ मन्त्री आएको एकहप्तामै आफू सहितको सरोकारवालाहरुको एउटा टोली जग्गा धनीको समस्या समाधान गर्न डेलिगेशन लिएर अर्थ मन्त्रालय जाने प्रतिबद्धता जनाएपछि जग्गाधनीले प्रदर्शन रोकेका थिए । ४ बजेबाट बन्दरगाहमा आवागमन सुचारु भएको छ । गत असार पछि स्थानीय मुआब्जा पाएका छैनन् । चालु आर्थिक बर्षमा मुआब्जा वितरणको काम ठप्प छ । वर्तमान सरकारले बजेट निकासा नगरेको कारण मुआब्जा वितरण काम रोकिएको जनाइएको छ । सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्राविधिक अधिकृत केवल चौधरीले अर्थ मन्त्रालयले रकम निकासा नगरेको कारण जग्गाधनीहरुले मुआब्जा पाउन नसकेको गुनासो गरे ।
अधिग्रहित ६२ बिघा जग्गाको ९ सय २० कित्ता जग्गा मध्ये हाल सम्म ६ सय ८३ कित्ताको ४२ बिघा १५ कठ्ठा १६ धुर जग्गाको मुआब्जा वितरण गरिएको छ । अझ पनि लगभग ३० प्रतिशत गाउँलेहरु मुअब्जा पाउने पर्खाइमा छन् । अहिले पनि करीब १९ बिघा जग्गाको मात्र २ अर्ब ८० करोड रुपैयाँ मुआब्जा वितरण गर्न बा“की रहेको अधिकृत चौधरीको भनाइ छ । यस बाहेक गाउँमा रहेका पुराना हकभोगवाला घडेरी र गाउँमा रहेका घर, रुख, कृषि, पोखरी, चापाकल आदिको पनि मुआब्जा दिनु पर्नेछ । तर अहिलेसम्म त्यसको सर्भे समेत हुन सकेको छैन् ।
एक दशक अगाडि देखि रोक्का गरिएको सिर्सिया सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँच चौकी बीचको जग्गाको मुआब्जा तोकिएपछि अधिग्रहणको प्रकृया संघीय सरकारले ६ बर्ष अघि सुरु गरेको थियो । नेपाल सरकारको २०७३ पुस १७ को निर्णयले स्थानीयको जग्गा अधिग्रहण प्रकृया अघि बढेको छ । २०७३ साल देखि सुरु गरिएको मुआब्जा वितरणको रकम किस्तामा आउने गरेकोले पहिला पाउने हर्षित भए पनि मुआब्जा नपाएकाहरु दिनप्रतिदिन बिच्चलीमा पर्दै गएका छन ।
प्रकाशित मिति: २०२३-०३-२१ , समय : १४:४७:२१ , ६ महिना अगाडि