लागुऔषधसहित ९ जना पक्राउ

रेडियो गौशाला , ६९५  पटक हेरिएको

काठमाडौं- देशका विभिन्न स्थानबाट लागुऔषधसहित नौजना पक्राउ परेका छन् । झापाको दमक नगरपालिका–१ हवल्दार चोकबाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २८ वर्षीय मुना राई, २४ वर्षीय संन्जय राई, सोही नगरपालिका–९ बस्ने २८ वर्षीय रविन धिमाल र १९ वर्षीय निशान नेपाली रहेका छन् ।

चोकमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक र प्रहरी पोष्ट फागुनन्दबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले उक्त पदार्थ निशान नेपालीबाट खरिद गरी ल्याएको भने अनुसन्धानको क्रममा खुल्न आएपश्चात निशानलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

धादिङको गजुरी नगरपालिका–६ आदमघाटबाट अवैध लागुऔषध गाँजा करिब ४ केजीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रुपन्देही ओमसतिया गाउँपालिका–४ बस्ने १९ वर्षीय मोहमद सरिफ खान र रुहणी गाउँपालिका–१ बस्ने २३ वर्षीय ईरफान खान रहेका छन् । अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरुलाई शंका लागी जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको छ ।

मोरङको कानेपोखरी गाउँपालिका-५ भौसावारीबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ६० मिलीग्रामसहित उर्लाबारी नगरपालिका-२ बस्ने २९ वर्षीय मिलन ढकाललाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले मे। ८ प ९५०७ नम्बरको मोटरसाइकलमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुरको, हेटौडा उपमहानगरपालिका–३ लेवटबाट अवैध लागुऔषध गाँजा करिब ४ केजीसहित सोही उपमहानगरपालिका–११ थानाभर्‍याङ बस्ने २४ वर्षीय पासाङ दोर्जेललाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लेवटबाट खटिएको प्रहरीले ना.२८ प २८४७ नम्बरको मोटरसाइकलमा सवार दोर्जेललाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सिरहाको धनगढीमाई नगरपालिका–८ कसहा बस्ने ७४ वर्षीय चौधरी महतोलाई अवैध लागूऔषध गाँजा ५ केजी ३ सय ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरमा लुकाई छिपाई गाँजा विक्री वितरण गरेको भन्ने विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो सिरहा, ईलाका प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट कसहाबाट संयुक्त रुपमा खटिएको प्रहरीले तलासी गर्ने क्रममा उनकै सुत्ने कोठाबाट उक्त लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । न्युज कारखाना

प्रकाशित मिति: २०२३-०३-२२ , समय : २१:२१:५१ , १ वर्ष अगाडि