रेडियो गौशाला , ९९२ पटक हेरिएको
जनकपुरधाम- जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतले मधेशी जनतालाई मधेशी नेताहरुलेनै ठगेको आरोप लगाएका छन् ।
उनले अन्य दलबाट ठगिनु र मधेशीबाट ठगिनुमा धेरै अन्तर रहेको उल्लेख गर्दै मधेशीलेनै मधेशीबाट ठगिनु अक्षम्य नहुने स्पष्ट पारेका छन् । बारा जिल्लाको सदरमुकाम कलैयामा आयोजित बृहत पार्टी प्रवेश एवम आमसभालाई सम्बोधन गर्दै नेता राउतले अहिलेपनि बिभिन्न बहानामा तराई मधेशमा बसोवास गर्ने सम्पूर्ण मधेशी जनताहरु माथि विभेद कायमै रहेको दाबी गरे । उनले मधेशी जनतालाई अधिकार दिलाउनका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्दै मधेशको बिकासका र अधिकारका लागि शहादत प्राप्त गरेका मधेशी शहीदको सपना साकार हुनेगरि जनमत पार्टीले काम गर्ने प्रतिवद्धता व्यक्त गरे । अहिले सम्मको प्राप्त उपलब्धिलाई समाप्त पार्ने खेल भइरहेको आरोप समेत उनले लगाए । ठूला दलहरुको इशारामा निर्वाचन आयोगले चोर बाटोबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई बारा निर्वाचन क्षेत्र २ बाट चुनाव लडने बाटो खुल्ला गरेको आरोप लगाए ।
मधेश र मधेशी जनतालाई उपेन्द्र यादवले नेतृत्व गरेका जनता समाजवादी पार्टीले पटक पटक धोका दिने काम मात्र गरेको उनको आरोप रहेको छ । सतामा टिकी रहने यादवको स्वार्थलाई अव बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का जनताले पाखा लगाउने बताए । सप्तरीबाट पराजित भएर फेरि पनि बाराका जनताहरुलाई धोका दिनका लागि बाराबाट चुनाव लडने यादवको भावी सपना चकनाचुर भएर जाने टिप्पणी गरे । क्षेत्र नम्बर २ मा जनमत पार्टीले पनि उम्मेदवारी दिने जानकारी दिदै जनमतलाई यहाँका जनताहरुले जनमत दिनेमा आफू आशावादी रहेको बताए । मुलुकमा भष्टाचार बढदै गएको हुँदा भष्टाचारलाई न्यूनीकरण गर्दै बिधिको शासन कायम गराउन, घरघरमा रोजगारी सृजना गर्न एवम किसानहरुलाई सहुलियत दरमा मलखाद उपलब्ध गराउनका लागि राज्य सम्वेदनशील हुनुपर्ने धारणा ब्यतm गरे । एक फरक प्रसंगमा अध्यक्ष राउतले देशमा ठूला पार्टी भनाउँदाहरु फेल भइसकेको बताउदै अव देशको निकास र बिकास जनमत पार्टीले नै गर्ने दावी गरे । जनमत पार्टी जनताको आशा एवम् भरोसाको किरण रहेको हुँदा मधेश प्रदेशमा सबै भन्दा ठूलो पार्टी बनाएर छाडने बताए ।
ओमप्रकाश साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शिवनाथ पटेल, प्रभुनाथ राउत कुर्मी, अजहर मंसुर लगायतका सयौको संख्यामा बिभिन्न पार्टी परित्याग गरी जनमत पार्टीका प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई अध्यक्ष राउतले फूलमाला लगाएर स्वागत गरेका थिए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु डाक्टर सुवन्त कुसवाहा, सुनिल कुमार यादव रामबाबु साह, रौशन खातुन नेताहरु सिए राजेश साह, सुशील यादव ,गाजानन्द यादव, सन्तोष पटेल प्रभुनाथ पटेल, शिवनाथ पटेल, अजहर मंसुर लगायतले आफनो विचार ब्यक्त गरेका थिए ।
प्रकाशित मिति: २०२३-०३-२३ , समय : ०८:५७:४८ , २ वर्ष अगाडि