कैदीबन्दी आर्सेनिकयुक्त पानी खान बाध्य

रेडियो गौशाला , ६१२८  पटक हेरिएको

रौतहट- जिल्ला कारागार कार्यालय रौतहट गौरमा बन्दी जीवन विताइ रहेका विभिन्न मुद्दाका कैदी बन्दीहरुलाई सास्ती भोग्नु परिरहेको छ । कारागारमा क्षमता भन्दा बढ़ी कैदी भएको कारण उनीहरुलाई कष्टपूर्ण जीवन विताउनु पर्ने अवस्था सृजना भएको छ ।

जिल्ला कारागारमा रहेका कैदी बन्दीहरुको साथ मानव अधिकारको उल्लंघनको कार्य भइरहँदा सम्वन्धित निकायले जेलको व्यवस्थापनमा ध्यान दिन नसकेको गुनासो उनीहरुको रहेको छ । विगत दुइ बर्ष देखि गौर कारागारमा बन्दी जीवन बिताउदै आएका राजपुर नगरपालिका ५ का मोहमद महताव आलमले कारागार भित्र शुद्ध खानेपानीको आभाव समेत रहेको बताए । बम विष्फोटको घटनामा संलग्न भएको आरोपमा पुर्पक्षको क्रममा कारागारमा रहेका आलमले भेटघाटको क्रममा कैदीहरुले भोगि रहेको पीड़ाको बारेमा जानकारी गराए । आर्सेनिक युक्त पानी खानु परेको भन्दै आलमले कारागार भित्रमा राजनीतिक बन्दी र विभिन्न आपराधिक घटनाका बन्दी लाई एकै ठाउमा खानु बस्नु परेको बाध्यता सुनाए । क्षमता भन्दा बढ़ी कैदी भएकोले राजनीतिक चलखेल बढ़ी भएको टिपण्णी गरे ।

कारागार भित्र बन्दी जीवन विताउनेलाइ मानव अधिकारको संरक्षण हुनु पर्ने जोड़ दिए ! शुद्ध खानेपानी, वस्ने स्थान, तनावमुक्त बातावरणको ग्यारेन्टी हुनु पर्नेमा त्यसको विपरीतको कार्य भइरहेको प्रति चिन्ता जनाए । १ सय २० जना कैदी बस्ने क्षमता भएको जिल्ला कारागारमा अहिले ३ सय ६१ जना कैदी रहेको जेलर शम्भु यादवले जानकारी दिए ।

पुरानो भवनको माथि १०० जना कैदी बस्न सकिने गरी जस्ताको घर निर्माण गरिएकोले २२० जना बस्न सकिने बताए । भौतिक संरचना थप व्यवस्थापन गर्नु पर्ने उनको भनाइ रहेको छ । चौकीदारको विषय लिएर विवादित अवस्थामा रहेका जिल्ला कारागार कार्यालयमा शुद्ध खानेपानीको समयमा व्यवस्थापन गराउनको लागि कैदी बन्दीहरुले जेल प्रशासनबाट मांग गरेका छन् ।

प्रकाशित मिति: २०२३-०३-२३ , समय : ०९:०२:४८ , २ वर्ष अगाडि