सिर्सिया नदीमा फोहोर मिसाउने पाँच उद्योगलाई १५ लाख जरिवाना

रेडियो गौशाला , ७६६  पटक हेरिएको

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने पाँच उद्योगलाई कारबाही कारबाही गरेको छ। ती उद्योगलाई महानगरले तीन–तीन लाखका दरले १५ लाख रुपैयाँ जरिवाना तिराएको हो।

वडा नम्बर २१ मा रहेको ग्लोबल लेदर उद्योग प्रा.लि, अर्निका प्रोसेसिङ उद्योग प्रा.लि , श्रीसिधी टेक्सटायल्स प्रा.लि, मोरियम लेदर उद्योग प्रा.लि र वडा नम्बर ३२ मा रहेको दुर्गा पुल्प एण्ड पेपर प्रालिलाई महानगरले तीन–तीन लाख रुपैयाँ जरिवाना तिराएको हो।

पाँच वटै उद्योगलाई मंगलबार पत्रचार गर्दै सात दिनभित्र जरिवाना रकम महानगरपालिकाको कार्यालयमा बुझाउन निर्देशन दिइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए। समयमा जरिवाना नबुझाएर थप कारबाही प्रक्रिया अघि बढाउने महानगरको पत्रमा उल्लेख छ।

महानगरको वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७७ को दफा ३७ अनुसार नदी प्रदूषित गर्ने पाँच उद्योगहरुलाई कारबाहीस्वरुप जरिवाना गरिएको पौडेलले बताए। यसअघि महानगरले गत फागुन १६ गते उद्योगहरुबाट निस्केको छाइ सिर्सिया नदीमा फाल्ने तीन ट्याक्टरलाई पनि नियन्त्रणमा लिएर १/१ हजार रुपैयाँ जरिवाना तिराएको थियो।

करिब तीन दशकदेखि प्रदुषणको चपेटामा परेको वीरगञ्ज शहरको लाइफलाइनकै रुपमा रहेको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन महानगरपालिकाले विगत दुई महिनायता अभियान चलाइरहेको छ।

अभियानअन्तर्गत महानगरले उपमेयरको संयोजकत्वमा गठन गरेको सिर्सिया नदी प्रदूषण नियन्त्रण समितिले पटक–पटक अनुगमन गरेको थियो। अनुगमनका क्रममा नदी तटमा रहेका उद्योगहरुले त्यहाँबाट निस्कने फोहोर (रसायनयुक्त फोहोर पानी, छालाको लेदो, कोइलाको छाइलगायत) सिधै नदीमा मिसाउदै आएको भेटिएको थियो। त्यसपछि फागुन ३ मा बसेको समितिको बैठकले नदी प्रदूषण गर्ने उद्योगहरुलाई कारबाही गर्ने निर्णय गरेको थियो।

महानगरले लिखितरुपमै चेतावनी दिँदासमेत अटेरी गरी उद्योगको फोहोर र रसयानयुक्त पानी सिधै नदीमा फाल्ने क्रम नरोकिएपछि जरिवाना तिराइएको महानगर प्रमुख राजेशमान सिंहले बताए। उनले भने, ‘सिर्सिया नदी वीरगञ्ज शहरकै लाइफलाइन हो। त्यसका कारण यो नदीलाई प्रदूषित बनाउने जोसुकै होस् महानगरले कारबाही गर्छ। नदीलाई प्रदूषणमुक्त बनाउने अभियान अब रोकिँदैन।’

बाराको सिमराभन्दा पश्चिममा पर्ने रामवनस्थित वनबाट सुरु र्सिसिया नदी पर्साको वीरगञ्ज हुँदै भारतको रक्सौलसम्म पुगेको छ।

नदीको प्रदुषणले बाराको सिमरा, बकुलिया, लोहसन्डा, रमौली, सगरदीना, रामपुर टोकनी, छातापिपरा, नितनपुर, गम्हरगाँवा, बेहरा, बलुवा, पर्साको सिर्सिया, ताजपुर, भलुही, रामगढवा, परवानीपुर र वीरगञ्ज महानगरपालिकाको रामवन, रामगढवा, विन्दवासिनी, रानीघाट, अशोकवाटिका, छपकैयासहित करिब एक दर्जन बढी गाउँका बासिन्दा प्रभावित हुँदै आएका छन्।

सिर्सिया नदीको प्रदूषित पानीका कारण नदी छेउका बासिन्दा तथा पशु चौपायामा समेत रोगको संक्रमण देखिने गरेको नदी छेउका स्थानीय बताउँछन्।

सिर्सिया नदी आसपासका स्थानीयले प्रदूषण रोक्न माग गर्दै घेराउ गरेपछि २०६७ सालमा जिल्ला प्रशासन कार्यालयले सिर्सिया नदी अनुगमन समिति गठन गरेको थियो। उक्त समितिले नदीको स्थलगत अनुगमन गरी तयार पारेको प्रतिवेदनमा प्रदूषणको कारक उद्योगहरु नै रहेको उल्लेख थियो।

रितेश त्रिपाठी संयोजकत्वको समितिको प्रतिवेदनमा नदी प्रदूषित बनाउने औद्योगिक करिडोरका ४६ वटा उद्योगहरुको नाम किटान गरिएको थियो। समितिले २०६७ साल मंसिर २२ मा तत्कालिन प्रमुख जिल्ला अधिकारी नागेन्द्र झालाई उक्त प्रतिवेदन बुझाएको थियो।

सिर्सिया नदीको प्रदूषण रोक्न माग गर्दै एक दशकयता विभिन्न संघसंस्था र अभियन्ताहरुले निरन्तर दबाबमूलक कार्यक्रम गर्दै आइरहेका छन्।

प्रकाशित मिति: २०२३-०३-२८ , समय : २०:५३:५६ , २ वर्ष अगाडि