रेडियो गौशाला , १४२५ पटक हेरिएको
काठमाडौं । संघीय संसद भवन नयाँ बानेश्वरको क्यान्टिनमा एक दिन सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, भीम रावल, शरतसिंह भण्डारी लगायतका नेताहरुबारे छलफल चल्दै थियो ।
०३१/०३२ सालमा नेम्वाङ नेपाल ल क्याम्पस, रावल रत्न राज्यलक्ष्मी क्याम्पस, पाण्डे सरस्वती क्याम्पस र शरतसिंह भण्डारी त्रिचन्द्र क्याम्पस पढ्थे । उनीहरुका अनुसार त्यसबेला शरतसिंह भण्डारीबारे दुईवटा टिप्पणी चर्चित थियो ।
एउटा– हिन्दी फिल्महरुमा ज्यादा भिलेनको रोल खेल्ने रञ्जित जस्तै । रञ्जितले फिल्ममा ठूलो बेल्ट लगाउथे । शरतले पनि उस्तै ठूलो बेल्ट लगाउँथे । अनुहार पनि मिल्ने भनेर टिप्पणी विद्यार्थीबीचमा हुन्थ्यो । शरत पनि यस्तो टिप्पणीबाट रिसाउँदैथे ।
अर्को– शरतसिंह भण्डारी राजनीतिमा स्थापित हुन्छन्, कुनै न कुनै भूमिकामा आफूलाई स्थापित गराउँछन् । यसो भन्नुको पछाडि पनि दुई कारण थिए । पहिलो– उनको पारिवारिक पृष्ठभूमि राजनीति थियो । दोस्रो– आफ्नो हैसियत आफैं बनाउन सक्ने खुशी उनीसँग विद्यार्थी कालमै थियो ।
२०३८ र २०४३ सालमा भण्डारी राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भए । पहिलो पटक सांसद (राष्ट्रिय पञ्चायत सदस्य) हुँदा भण्डारी जम्मा २७ वर्षका थिए । २०११ असोज २२ गते धनुषामा जन्मिएका उनी उच्च शिक्षाका लागि काठमाडौं आएका थिए । विद्यार्थी राजनीतिमा सक्रिय भएका मरिचमानसिंह श्रेष्ठ नेतृत्वमा सरकारमा २०४५ सालमा सहायक मन्त्री नै भए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मन्त्रिपरिषद विस्तार गर्दा लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह मन्त्री बन्दैछन् । उनी त्यस्ता नेता हुन् जो पञ्चायतकालदेखि गणतन्त्रसम्म १५ पटक मन्त्री भइसके ।
‘हामी शरतसिंहबारे जे सोच्थ्यौं त्यस्तै भयो । ०५१ मा पार्टीले टिकट नदिएपछि स्वतन्त्र चुनाव लडे र जिते । ०५६ मा कांग्रेसले टिकट दियो र फेरि जिते’, हाल राजनीतिमै रहेका शरतका विद्यार्थी जीवनका एक साथीले भने ।
भण्डारीले राजनीतिक जीवनको सुरुवात ०३१/०३२ सालदेखि भएको हो । ०३२ सालमा उनी नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघमा आवद्ध भएका थिए । त्यसयता निरन्तर राजनीतिमा रहेका उनी निरन्तर शक्तिमा रहँदै आएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मन्त्रिपरिषद विस्तार गर्दा लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह मन्त्री बन्दैछन् । उनी त्यस्ता नेता हुन् जो पञ्चायतकालदेखि गणतन्त्रसम्म १५ पटक मन्त्री भइसके ।
सुरुमा कांग्रेसमा रहेर राजनीति गरेका उनले बीचमा स्वतन्त्र रुपमा चुनाव जितेर पनि अन्यत्र लागेनन् । ०५६ मा कांग्रेसबाटै प्रतिनिधिसभा चुनाव जितेका भण्डारी ०६२/०६३ को जनआन्दोलन पछि भने तराई मधेश केन्द्रित राजनीतिमा लागे ।
पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबाट निर्वाचित हुँदै मन्त्री भए । माधवकुमार नेपाल नेतृत्वको सरकारमा २०६६ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन र डा.बाबुराम भट्टराई नेतृत्वको सरकारमा रक्षामन्त्री भए । ‘मधेश टुक्रन सक्ने विवादास्पद अभिव्यक्ति’ दिएपछि उनको रक्षामन्त्री पद खोसिएको थियो ।
०७० को चुनाव हारेका भण्डारी ०७४ र ०७९ को चुनावमा भने पुनः प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा २०७८ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा भण्डारी १३ दिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका थिए । ०७९ को चुनाव जितेको केही महिनामै भण्डारीले फेरि मन्त्री बन्ने अवसर पाउँदैछन् ।
६८ वर्षका भण्डारीले राजनीतिमा मात्रै पाँच दशक बिताए । १६ औं पटक मन्त्री हुँदै गरेका उनी धेरै पटक मन्त्री बन्नेमा पहिलो नम्बरमा रहनेछन् ।
राजनीति शास्त्रका प्राध्यापक लोकराज बराल नेपाली राजनीतिमा धेरै पटक मन्त्री हुनुलाई सफलता मान्ने गलत अभ्यास रहेको ठान्छन् । उनी भन्छन्, ‘कामका आधारमा सफल भएँ कि असफल भएँ भनेर आफैंलाई मूल्याङ्कन गर्ने कुरा कसैले गरेनन् यो नेपाली राजनीतिकै दुखद कुरा हो ।’
यसका पछाडि दुइटा कारण देख्छन् उनी । एउटा– एक पटक पावरमा पुगेकाहरुले पावरमै सिण्डिकेट खडा गरे । दोस्रो – पावरमा भएको सिण्डकेट तोड्ने क्षमता भएका नेताहरु पनि भएनन् ।
‘शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री भए । अब अर्को पटक पनि हुने रे । मन्त्रीहरुमा पनि कहिले को, कहिले को धेरै लामो समयदेखि एउटै अनुहार दोहोरिरहेको हुन्छ’, बराल भन्छन्, ‘शरतसिंह भण्डारी त्यस्तै एउटा पात्र हुन् जो १६ मात्रै नभएर अझ बढी २० औं पटक पनि मन्त्री हुन सक्छन् ।’
गठबन्धनको सरकार भएकाले सम्बन्धित पार्टीले नै सरकारमा कस्तो पात्र पठाउने भनेर निर्णय गर्ने भएकाले प्रश्न पनि पार्टीहरुलाई गर्नुपर्ने उनको राय छ । ‘१६ औं पटक मन्त्री बनाऊ भनेर सिफारिस गर्नु पार्टीको दोष हो । अर्को मान्छे थिएनन् त्यो पार्टीमा ?’ प्राध्यापक बरालको प्रश्न छ ।
प्रकाशित मिति: २०२३-०३-३१ , समय : ०७:०८:५० , २ वर्ष अगाडि