हनुमान जयन्तीमा विहिबार बजरँग दलले शोभायात्रा निकाल्ने, जनकपुरको गल्ली गल्ली परिक्रमा हुने

रेडियो गौशाला , ८६८९  पटक हेरिएको

जनकपुरधाम । हनुमान जयन्तीको अवसरमा बजरँग दल जनकपुर र हिन्दु सम्राट सेनाले शोभायात्रा निकाल्ने भएको छ ।

आउँदो बिहिबार (चैत २३) गतेको दिन बजरँग दल र हिन्दु सम्राट सेनासहित अन्य हिन्दु संगठनहरुले विशाल शोभायात्रा निकाल्ने भएको छ ।

सोमबार हिन्दु–मुस्लिमको धार्मिक सदभाव रैली निकालिएपछि अब जनकपुरमा कुनै बाटो, कुनै रुटमा शोभायात्रा, ताजिया, मोहरम्म, कलशयात्रा निकालिए कसैलाई आपत्ति नहुने र निर्वाध आवतजावत गर्न दिने सहमति भएको हो ।

यता, धार्मिक कार्यक्रमको लागि प्रशासनसँग पूर्व अनुमति लिनुपर्ने पनि सहमति भएको हो । रामनवमीको दिन शोभायात्राको क्रममा जनकपुरको जानकी मन्दिर पछाडीका मुस्लिम समुदायहरुले अवरोध गरेपछि तनाव उत्पन्न भएको थियो ।

प्रशासनले जनकपुरधाम जस्तो ठाउँमा कसैले कुनै धर्मको शोभायात्रा, कार्यक्रमलाई अवरोध गरे कारवाही हुने चेतावनी दिएपछि सदभाव रैली निकालिएको हो । विहिबार सो रुटबाट पनि हनुमान जयन्तीको अवसरमा शोभायात्रा निकाल्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: २०२३-०४-०४ , समय : १०:४४:०४ , २ वर्ष अगाडि