रेडियो गौशाला , १७०९ पटक हेरिएको
सप्तरी । राजविराज नगरपालिका विगत दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन हँुदा कार्यालयको कामकाज प्रभावित बनेको छ भने सेवाग्राहीहरु सास्ती भोग्न बाध्य बनेका छन् ।
अधिकृत नहुँदा विभिन्न कामका लागि नगरपालिका आउने सेवाग्राहीहरु रित्तो हात घर फर्किने गरेका छन् भने कार्यालयको आर्थिक तथा प्रशासनिक कामकाज ठप्प छ । आफूले गरेको कामको भुक्तानीका लागि पाँचौ पटक भन्दा बढी नगरपालिका पुग्दा पनि प्रशासकीय अधिकृत नभएको कारणले रित्तो हात घर फर्किनु परेको स्थानीय रोशन झाले गुनासो पोखे । अर्का सेवाग्राही नरेन्द्र दासले काम गरेको भुक्तानीका सन्दर्भमा पटक–पटक नगरपालिका पुगेर फिर्ता हुनु परेको दुखेसो पोखेका छन् । ‘जति पटक नगरपालिका पुग्दा पनि प्रमुख प्रशासकीय अधिकृत नआए सम्म काम हुन्न भन्छन, उनले भने–जहिले पनि २/४ दिनमा आउँछन मात्र भन्छ।’उनले भने ।
नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनु गत फागुन ५ गते नै डाक्नेश्वरी नगरपालिकामा सरुवा भएर गएका छन् । उनको स्थानमा अर्का प्रमुख आएका छैनन । हाल निमित्तको जिम्मा स्वास्थ्य शाखाका प्रमुख निरन्जन यादवलाई दिइएको छ । निमित्तको जिम्मा पाएको भए पनि आर्थिक कारोबार गर्न नपाएका कारण नगरपालिका भित्र हुने आर्थिक तथा अन्य महत्वपूर्ण कामकाज समेत प्रभावित भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवाग्राहीलाई मात्र होइन नगरपालिका मातहतका कर्मचारीलाई पनि समस्या भएको छ । नगरपालिकाका कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् ।
सरसफाई फाँटका कर्मचारीले त तलब पाउन नसकेको ६ महिना पुगिसकेको छ । लामो समयदेखि तलब न पाउँदा हात मुख जोड्न समेत समस्या भएको सरसफाइ कर्मचारी विष्णु राउतले गुनासो पोखे । प्रमुख प्रशासकीय अधिकृत नहँुदा तलबसंगै विभिन्न शीर्षकमा भएको खर्चको भुक्तानी दिन पनि समस्या भएको लेखापाल शत्रुधन दासले बताए । निमित्त प्रमुख प्रशासकीय अधिकृत निरंजन यादवले आपूmले आर्थिक कारोवार कार्य गर्न नमिल्ने भएकाले समस्या भएको बताए ।
‘तलब नपाउँदा कर्मचारीहरु पनि समस्यामा छन, उनले भने–कार्यवाहक नगरप्रमुख इसरत परविनले यसका लागि आवश्यक पहल र प्रयास गरिरहेका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले भने, सम्बन्धित मन्त्रालय र विभागमा उनको प्रयास जारी छ ।’ राजविराज नगरपालिकाका प्रमुख भीमराज यादव हाल निलम्बित अवस्थामा छन् । नगर प्रमुखमा निर्वाचित हुनु अघि नै ५ वर्ष पुरानो एक निर्माण कार्यमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेपछि उनी निलम्बित भएका छन् । जसकारण उपप्रमुख परविनले कार्यवाहक प्रमुख भएर पालिका चलाइ रहेकी छन् । विशेष अदालतले उक्त मुद्दाको छिनोफानोमा ढिलाई गर्दा कार्य वाहक प्रमुख परविनलाई स्थानीयस्तरको न्याय सम्पादनको कार्यदेखि विभिन्न समस्याको व्यवस्थापन गर्न चुनौती थपिएको छ ।
लामो समयदेखि नगर प्रमुख र त्यसपछि प्रमुख प्रशासकीय अधिकृतविहीन बन्न पुग्दा नगरपालिकाको विभिन्न योजना र विकास निर्माण कार्यसमेत अहिले अन्यौलग्रस्त अवस्थामा पुगेको भन्दै नगरवासीले अविलम्ब यसको उचित व्यवस्थापन हुनु पर्ने माग गरेका छन् ।
प्रकाशित मिति: २०२३-०४-१३ , समय : १३:४६:४४ , १ वर्ष अगाडि