नगरपालिकाको वारुण यन्त्र दुर्घटनामा पाँच जना घाइते

रेडियो गौशाला , १०४०  पटक हेरिएको

जनकपुरधाम- आगो निभाउन गएको गौर नगरपालिकाको वारुण यन्त्र गढवाटोलमा दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित पाँच कर्मचारी घाइते भएका छन् ।

नगरपालिकाको वडा –४ गढवाटोलमा रहेको कुखुराको खोरमा लागेको आगो निभाउन जाँदा मंगलबार राति करीब १२ बजे वारुण यन्त्र दुर्घटनामा परेको थियो । कुखुराको खोरमा आगो लागेको खबर पाउनासाथ अग्नि नियन्त्रण कर्मचारीसहित गढवाटोल जानेक्रममा वारुणयन्त्रको ‘ब्रेक फेल’ भई दुर्घटना भएको चालक करिम अन्सारीले बताए ।

नगरपालिकाको ना १ ग ७८८ नम्बरको वारुण यन्त्र दुर्घटना हुँदा चालक अन्सारी दमकल प्रहरी प्रेम केसरी, किशुन्द्र साह गम्भीर घाइते भएका छन् । जिल्ला अस्पताल गौरमा प्राथमिक उपचार गरी थप उपचारका लागि उनीहरूलाई वीरगञ्ज पठाइएको नगर प्रमुख शम्भु साहले जानकारी दिएका छन् । उनका अनुसार सामान्य घाइते भएका दमकल प्रहरी शिवशंकर पटेल र नथुनी पासवानको गौर अस्पतालमै उपचार भइरहेको छ ।

मानव सेवामा खटेको वारुण यन्त्र दुर्घटनामा परी घाइते भएका कर्मचारीको उपचारमा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले व्यहोर्ने जनाएको छ ।

प्रकाशित मिति: २०२३-०४-२७ , समय : ०८:१३:४० , १ वर्ष अगाडि