उच्च अदालतद्वारा मिथिलाको नगरसभाविरुद्धको रिट खारेज

रेडियो गौशाला , ६४२  पटक हेरिएको

जनकपुरधाम- उच्च अदालत जनकपुरले मिथिला नगरपालिकाको नगरसभाविरुद्ध परेको रिट खारेज गरिदिएको छ । नगरपालिकाकी उपप्रमुख सुनिता सिंह बुढाथोकीलगायतले नगरसभाविरुद्ध उच्च अदालत जनकपुरमा दायर गरेको रिट आईतवार न्यायधीशद्वय रेखा थापा पाण्डे र सागर विष्टको संयुक्त इजालशले खारेज गर्ने फैसला सुनाएको हो ।

रिट निवेदकको दावी नपुगेकोले नगरसभाविरुद्धको रिट खारेज गरिएको उच्च अदालत जनकपुरका रजिष्टार खड्गराज अधिकारीले जानकारी दिए । ‘नगरसभाको आमन्त्रणपत्र रिट निवेदकहरुले बुझ्नुभएको रहेछ । त्यसैले उहाँहरुको दावी पुगेन,’ उनले भने ।

यसअघि १७ साउनमा न्यायाधीश रामेश्वर रेग्मीले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको थियो । विधि र प्रक्रिया मिचेर नगरसभा गरेको भन्दै उपप्रमुख बुढाथोकी सहितकाले नगरसभाविरुद्ध रिट दर्ता गराएका थिए ।

गएको साउन १५ गते नगरपालिकाको नगरसभाको १२ औं अधिवेशनको उद्घाटन सत्रमा आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम र साउन १७ गते समापन समारोहबाट ७८ करोड २ लाख ६ हजार ७२७ रुपैयाको बजेट पारित गरेको थियो । उच्च अदालतको आदेशसँगै नगरसभाबाट पारित नीति, कार्याक्रम तथा बजेट कार्यान्वयनको बटो खुलेको छ ।

प्रकाशित मिति: २०२३-०८-२७ , समय : २१:०५:३५ , १ वर्ष अगाडि