जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवन उद्घाटन

रेडियो गौशाला , ७१८  पटक हेरिएको

वीरगञ्ज – गृहमन्त्री नारायणकाजी श्रेष्ठले जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवन उद्घाटन गरेका छन्। कार्यालय परिसरमा आइतबार आयोजित एक कार्यक्रमबीच मन्त्री श्रेष्ठले पूजा गरी भवन उद्घाटन गरेका हुन्।

नवनिर्मित तीन तले सुविधा सम्पन्न भवन निर्माण भएपछि अहिले जिल्ला प्रशासनले सोही भवनबाट सेवा दिँदै आएको छ। कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै उनले संविधान कानुनअनुसारको सेवा जिल्ला प्रशासन कार्यालयबाट जनताले सहज ढंगले प्राप्त गर्न सके मात्रै सुशासनको प्रत्याभूति गर्न सकिने बताएका थिए।

गृहमन्त्री श्रेष्ठले सोर्सफोर्स दलालीबाट सेवा दिने कुराको अवशेष अहिलेसम्म पनि रहिरहेका कारण त्यस्ता दलाली चाकडी गरेरै सेवा दिनुपर्ने काम अन्त्य गर्न निर्देशनसमेत दिए।

गाउँबाट काम छाडेर सरकारी कामका लागि वीरगञ्ज आउने जनताको सेवालाई ध्यानमा राख्दै मालपोत, नापी कार्यालयजस्ता दैनिक भीड हुने कार्यालयको भवन पनि जिल्ला प्रशासनजस्तै सुविधायुक्त बनाउन सके राम्रो हुने पर्साको धोबिनी गाउँपालिकाका अध्यक्ष मदनप्रसाद चौहानले बताए। कार्यक्रममा भवन निर्माणमा सहयोग गर्नेलाई सम्मानसमेत गरिएको थियो।

प्रकाशित मिति: २०२३-०८-२७ , समय : २२:१६:०५ , १ वर्ष अगाडि