‘बर्दिबास नगर पत्रकार संजालको अधिवेशन विधान विपरित’

रेडियो गौशाला , ११४७  पटक हेरिएको

बर्दिबास । महोत्तरीको बर्दिबास नगर पत्रकार संजालको सम्पन्न तेश्रो साधारणसभा तथा दोश्रो अधिवेशन विधान विपरित रहेको बताइएको छ ।

आईतवार संजालका सचिव राजकरण महतोले प्रेस विज्ञप्ती जारी गर्दै बर्दिबास नगर पत्रकार संजाल, महोत्तरीको यही भदौ ९ गते एकलौटी एकपक्षिय एवं नियोजितढंगबाट गरिएको कथित तेश्रो साधारणसभा तथा दोश्रो अधिवेशनप्रति आफूहरुको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रथमत. संजालका अध्यक्ष, सचिव तथा सदस्यहरुलाईसमेत सहभागी नगराई सम्पन्न भनिएको कथित साधारण सभा र अधिवेशन आफैमा विधानविपरित भएकोले यसको बैधानिक मान्यतासमेत नरहेको स्पष्ट भएको बताइएको छ । ‘सत्ता कब्जा, संस्था कब्जा गर्ने स्कूलिङ र रणनीतिबाट प्रेरित’ यसता भाँडभैलो आफैमा निन्दनीय र ‘संस्था कब्जा’ गर्ने हर्कतसमेत रहेको विज्ञप्तीमा उल्लेख छ ।

‘बर्दिबासमा क्रियाशील पत्रकारहरुलाई नयाँ सदस्यता प्रदान नगर्नु र भएका सदस्यहरुको सदस्यता नवीकरण नगरि समपन्न भनिएको अधिवेशन कसरी विधानसम्मत हुन सक्छ ?,’ प्रश्न उठाउँदै विज्ञप्तीमा भनिएको छ ‘बर्दिबास नगर पत्रकार संजाल बर्दिबास क्षेत्रमा काम गर्ने क्रियाशील श्रमजीवि पत्रकारहरुको साझा संस्था पनि हो । जस्को लक्ष्य नै पत्रकारहरुको हकहीत गर्नु हो । संजालको विधान २०७५ को प्रस्तावनालेसमेत यही भावनालाई समेटेको छ ।’

कुनै पनि संस्थाको नयाँ अधिवेशन गर्नुअघि कृयाशील सदस्यहरुको सदस्यता नवीकरण र योग्यता पुगेका पत्रकारलाई नयाँ सदस्यता प्रदान गर्नु विधानसम्मत दायित्व भएको सचिव महतोले उल्लेख गरेका छन् ।

‘सदस्यहरु संस्थाका बौद्धिक पुँजी भएकाले नयाँ सदस्यता प्रदान गर्नका लागि सार्वजनिक सूचना पनि आवहान गरिएको थियो । पत्रकार साथीहरुले आवेदन पनि दिनु भएको थियो,’ महतोले विज्ञप्तीमा लेखेका छन् ‘तर नयाँ सदस्यताका लागि प्राप्त आवेदनहरुमाथि छानवीननै नगरि योग्यता हुदाहुदै सदस्य वन्नबाट बञ्चित गरिनु संजालको विधान २०७५ परिच्छेद ३ को २ (ग) अनुसार दण्डनीय कार्यसमेत हो ।’

विधि र प्रक्रिया मिचेर गरिएको संजालको कथित साधारणसभा तथा अधिवेशनको नौटंकी मंचन कानुनसम्मत नरहेकोले भ्रममा नपर्न आग्रह गर्दे अहिले पनि ललन मण्डल नेतृत्वको कार्यसमिति नै बर्दिबास पत्रकार सञ्जाल महोत्तरीको आधिकारिक कार्यसमिति रहेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति: २०२३-०८-२८ , समय : ०५:४३:२३ , १ वर्ष अगाडि