रेडियो गौशाला , ६९४४ पटक हेरिएको
महोत्तरी – बर्दिबास–१ स्थित बर्दिबास सेवा समितिको भवनमा ‘कृत्रिम खुट्टा जडान कार्य’ सुरु भएको छ। रोटरी क्लब अफ बर्दिबासको आयोजनामा आजदेखि सुरु भएको अभियानमा विभिन्न घटनामा खुट्टा गुमाएका व्यक्तिलाई कृत्रिम खुट्टा जडान गर्न लागिएको हो।
विभिन्न घटनामा खुट्टा गुमाएकाले कृत्रिम खुट्टाको सहारामा हिँडडुल गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको क्लबका अध्यक्ष कृष्णप्रसाद गौतमले जानकारी दिए। “कार्यक्रमबारे तालिका बनाउँदा १० दिन अभियान सञ्चालन गर्ने योजना बनाएका थियौँ”, उनले भने, “अहिलेसम्म ९० भन्दा बढीले नाम दर्ता गराइसक्नुभएकाले केही दिन अभियान लम्बिने भयो।”
अभियानका क्रममा सम्पर्कमा आउने सबै बिरामीलाई सेवा दिने क्लबले जनाएको छ। अध्यक्ष गौतमका अनुसार भारतस्थित जयपुरका दक्ष प्राविधिकले बनाएका कृत्रिम खुट्टा सेवाग्राहीलाई जडान गरिनेछ। यस अभियानमा रोटरी क्लब अफ वीरगञ्जले समेत साथ दिएको उनको भनाइ थियो। यस कार्यका लागि चार बङ्गलादेशी र दुई नेपालीसहित छ प्राविधिक रहेका अध्यक्ष गौतमले जानकारी दिए।
“एक जनाको खुट्टा जडानका लागि दुई प्राविधिकलाई कम्तीमा छ घण्टा लाग्छ”, बङ्गलादेशी प्राविधिक टोलीका प्रमुख नजमुल हसनले भने, “एक दिनमा तीनदेखि पाँच जनासम्मको जडान गर्न सकिन्छ।”
शिविरमा मधेश प्रदेशका आठ जिल्ला सेवाग्राही, सोलुखुम्बु, पाँचथर, काठमाडौँ, दाङका साथै भारतीयबाट समेत आएका आयोजकले जनाएको छ। शिविरमा कृत्रिम हात पनि जडान गरिने जनाउँदै अध्यक्ष गौतमले कृत्रिम हात भने सीमित मात्र रहेको बताए।
“हात १२ जनालाई मात्र दिनसक्ने भएका छौँ। खुट्टाचाँही आएजति सबैलाई दिन्छौँ”, उनले भने, “अहिले खुट्टाका लागि ९० जनाको नाम दर्ता भएको छ। भदौ २५ सम्म सम्पर्कमा आउने सबैलाई सेवा दिनेछौँ।”
प्रकाशित मिति: २०२३-०९-०२ , समय : २१:३६:५७ , १ वर्ष अगाडि