एमाले मधेश प्रदेश अधिवेशनको लोगो सार्वजनिक

रेडियो गौशाला , ८९३  पटक हेरिएको

धर्बेन्द्र झा, जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेशको असोज २४ र २५ गते जनकपुरधाममा हुन गइरहेको प्रथम अधिवेशनका लागि बिहीबार नारा र लोगो सार्वजनिक गरिएको छ ।

एमाले प्रचार विभाग मधेश प्रदेशले आज आयोजना गरेको पत्रकार सम्मेलनबीच एमालेका सचिव एवम् मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईसहितका नेताहरूले प्रथम अधिवेशनको नारा र लोगो सार्वजनिक गर्नुभएको हो ।

“सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशको स्वाभिमान र समृद्धिका लागि एमालेको सरकार” मूल नारा रहेको अधिवेशनको लोगोमा मधेश प्रदेशका ऐतिहासिक धरोहर जनकपुरधामको जानकी मन्दिर, वीरगन्जको शङ्कराचार्य गेट, गुम्बार, मस्जिद र यहाँको वातावरणसँग मेल खाने धुवाँ निस्कँदै गरेको चिम्नी, कृषि कर्मलाई राखिएको छ ।

पत्रकार सम्मेलनमा अधिवेशनको तयारीबारे जानकारी दिँदै प्रदेश अध्यक्ष रामऔतार यादवले जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको हलमा हुने कार्यक्रमको उद्घाटन एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने छ ।

अधिवेशनमा आठवटै जिल्लाबाट एक हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने अध्यक्ष यादवले जानकारी दिनुभयो । उहाँले प्रतिनिधि छनौटका लागि १३६ वटै पालिकामा एक प्रमुख अधिकृत र दुई अधिकृतसहितको निर्वाचन समिति बनाइएको छ ।

सबै प्रतिनिधिहरू असोज १५ गतेभित्र चयन हुनेछन । हरेक जिल्लाबाट मुस्लिम र दलित ८–८ जना र आदिवासी जनजातिको ४–४ जनाको दरले प्रतिनिधित्व रहनेछ । अधिवेशन सफल पार्न विभिन्न उपसमितिहरू गठन गरिएको अध्यक्ष यादवले जानकारीहरू दिनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै मधेश इन्चार्ज भट्टराईले सिङ्गो मधेशको विकास र सामाजिक न्याय कायम गर्नका लागि मधेश प्रदेशमा एमालेको सरकार आवश्यक भएको बताउनुभयो । एमालेको मधेश प्रदेशमा अगामी यात्रालाई फलदायी बनाउन प्रदेश अधिवेशन महत्त्वपूर्ण भएको बताउनुभयो ।

नेतृत्वका लागि पहिलो सहमतिको प्रयास हुने र सहमति नभएमा प्रतिस्पर्धा गर्नेलाई रोक नहुने उहाँले बताउनुभयो । पत्रकार सम्मेलनमा एमाले धनुषा इन्चार्ज लिलानाथ श्रेष्ठ, महोत्तरी इन्चार्ज जुलि महतो, एमाले केन्द्रीय सदस्य अरविन्द सिंहसहित नेताहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२३-०९-२८ , समय : २२:१४:२० , ५ महिना अगाडि