‘क्युआर कोड’ मार्फत सूचना

रेडियो गौशाला , ११८२  पटक हेरिएको

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले गुनासो व्यवस्थापनका लागि क्युआर कोड सेवा सुरु गरेको छ । प्रहरी सङ्गठनभित्र र आमसर्वसाधारणले खबरका लागि क्युआर कोड सुविधा उपयोग गर्न सक्ने छन् ।

कोशी प्रदेश प्रहरी कार्यालयको क्युआर कोड सुविधा प्रयोगसम्बन्धी कार्यविधि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मङ्गलबार सार्वजनिक गर्नुभएको थियो । त्योसँगै अब सर्वसाधारणले क्यूआर कोडको प्रयोग गरेर प्रहरीसमक्ष आफ्नो सूचना दिन सक्ने छन् । प्रविधिको विकाससँगै दुरुपयोग बढेको बताउँदै प्रहरी महानिरीक्षक कुँवरले अपराध नियन्त्रण र अनुसन्धानमा प्रहरीसमेत प्रविधिमा दक्ष हुनुपर्ने औँल्याउनुभएको थियो ।

प्रहरीले प्रयोगमा ल्याएको क्युआर कोड सुविधा उजुरी पेटिकाका रूपमा उपयोग गर्न सकिने छ । आम सेवाग्राहीले आफ्नो गुनासो, पीरमर्का वा कुनै घटनासँग सम्बन्धित सूचना दिनु पर्दा तत्काल क्युआर कोडको प्रयोग गर्न सक्ने प्रहरी नायब महानिरीक्षक एवं कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।

कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, विशेष सुरक्षा गण दुहवी, कोशी प्रदेश सशस्त्र प्रहरी गण विराटनगर र १४ वटै जिल्ला प्रहरी कार्यालयमा मङ्गलबारदेखि क्युआर कोड कार्यान्वयनमा आएको हो । प्रहरी नायब महानिरीक्षक बास्तोलाले एक महिनाभित्रै इलाका प्रहरी कार्यालय तथा चौकीस्तरसम्म सर्वसाधारणले सहजै प्रयोग गर्न सक्ने गरी क्युआर कोडको सेवा सुरु गरिने जानकारी दिनुभयो । क्युआर कोडमार्फत सम्बन्धित जिल्लाका जिल्ला प्रहरी प्रमुखसमक्ष सेवाग्राहीले आफ्नो भनाइ राख्न वा उजुरी गर्न सक्ने सुविधा रहेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले यसअघि प्रयोगमा ल्याएको क्युआर कोडको प्रभावकारितालाई मूल्याङ्कन गर्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले थप परिमार्जन गर्दै सबै जिल्लामा सुविधा विस्तार गरेको हो । यसको प्रभावकारिता र कार्यान्वयनका लागि कोशी प्रदेश प्रहरी कार्यालयले प्रहरी अधिकृतसहितको प्राविधिक टोलीसमेत परिचालन गरेको छ ।

प्रकाशित मिति: २०२३-०९-२८ , समय : २२:१८:१९ , १ वर्ष अगाडि