इजराइलमा मारिएका १० मध्ये ४ नेपालीको शव आइतबार नेपाल आइपुग्ने

रेडियो गौशाला , ७९८  पटक हेरिएको

काठमाडौं। प्यालेस्टाइनी हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका १० मध्ये ४ जना नेपालीको शव आइतबार बिहान काठमाडौं आइपुग्ने भएको छ ।

तेलअविवस्थित नेपाली राजदूतावास आज एक प्रेस विज्ञप्ति जारी गर्दै आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये ४ जनाको शव आइतबार काठमाडौं पुग्ने जानकारी दिएको छ।

दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ-‘चार विद्यार्थीको शव भोलि दिउँसो १ः२५ बजेको फ्लाइ दुबईको उडानबाट नेपाल पठाईदैछ ।’ इजरायलबाट दुबईसम्म र त्यहाँबाट काठमाडौंसम्म पुग्ने व्यवस्था मिलाइएको राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यसरी पहिलो चरणमा नेपाल पठाउन लागिएको शवमा नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिस्ट र आशिष चौधरीको रहेको छ।

अन्य शव पहिचानको काम भइरहेको जनाइएको छ । सम्पर्कविहीन रहेका विपीन जोशीको खोजी भइरहेको पनि दूतावासले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२३-१०-२१ , समय : ०७:५९:४२ , ४ महिना अगाडि