सर्लाहीबाट २५० किलो गाँजा बरामद, दुई युवक पक्राउ

रेडियो गौशाला , ५०७  पटक हेरिएको

सर्लाही – सर्लाही प्रहरीले ट्याक्टरमा राखेर भारततर्फ निकासी गर्न लाग्दा ठूलो परिमाणको लागूऔषध गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ ।

सुराकीको आधारमा खटिएको विशेष प्रहरी टोलीले शनिबार राति कविलासी नगरपालिका–९, सलेमपुर भलुवाहीबाट २५० किलो गाँजा, त्यसको ओसारपसारमा प्रयोग गरिएको ट्याक्टर र दुई युवकलाई पक्राउ गरेको हो । भलुवाहीस्थित झिम नदीको किनार हुँदै ज १ त ५५५१ नम्वरको ट्याक्टरमा राखेर दक्षिणतर्फ लैजाँदै गरिएको गाँजा बरामद भएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पन्जियार थारुले जानकारी दिए ।

गाँजा ओसारपसारमा संलग्न ट्याक्टरका चालक कविलासी नगरपालिका–१०, का २८ वर्षीय भाग्यनारायण महतो र ट्याक्टरमा सवार सोही ठाउँकै २४ वर्षीय रवि भन्ने रविन्द्र रायलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको डीएसपी थारुले बताए । इलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) ठाकुर सापकोटाको नेतृत्वमा खटिएको प्रहरीले बरामद गरेको गाँजा र पक्राउ परेका व्यक्तिलाई आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय मलङ्गवामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार १९ वटा पोकामा रहेको उक्त गाँजा ३० लाख रुपियाँ बराबरको रहेको अनुमान गरिएको छ । उक्त गाँजा सर्लाहीकै चुरेभेग तथा छिमेकी जिल्ला सिन्धुली वा मकवानपुरतर्फबाट ल्याएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ । पत्रकार सम्मेलनमा सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रवीण धितालले गाँजा ओसार्न प्रयोग गरिएका व्यक्ति पक्राउ गरिएको र यसको मालिक को हुन ? भन्ने विषयमा अनुसन्धान गरिने बताए ।

यस्तै, प्रहरी उपरीक्षक धितालले शनिबार एकैदिनमा जिल्लाका विभिन्न नाकाबाट भन्सार छलेर ल्याइएको दुई लाख ७१ हजार ६८० रुपियाँ बराबरको अवैध समान समेत बरामद गरी जिल्ला भन्सार कार्यालय मलङ्गवामा बुझाइएको पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

प्रकाशित मिति: २०२३-१०-२९ , समय : २१:५२:०९ , ४ महिना अगाडि