जनकपुरमा कानुनविपरीत बजिरहन्छ कानै खाने आवाज

हैरान पर्छन् स्थानीय चुपचाप बस्छ सरकार

रेडियो गौशाला , २२५२  पटक हेरिएको

रोहित महतो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका, रामानन्द चोकका ४९ वर्षीय विनोद साहलाई एक वर्षअघि हृदयाघात भयो। मुटुसम्बन्धी रोगी उनलाई डाक्टरले चर्को आवाजबाट बच्नू भनेका थिए।

हृदयाघात भएपछि डाक्टरकहाँ पुगे। सबै विवरण बताएपछि डाक्टरले चर्को ध्वनिका कारणले असर परेको बताए। त्यो बेला उनको घरनजिकै बिहेको अवसरमा लगातार तीन दिन चर्को ध्वनिमा गीत बजेको थियो।

‘गाडीको चर्को हर्नले म आजित थिएँ। पोहोर साल छिमेकमा तीन दिनसम्म ठूलो साउन्ड (आवाज) बज्यो। अचानक हर्ट अट्याक (हृदयाघात) भयो। म त बेहोस भएछु,’ विनोदले भने, ‘छोराले समयमै अस्पताल नपुर्‍याएको भए मरिसकेको हुन्थेँ।’

त्यसअघि पनि उनको मेडिकल रिपोर्टमा ससानो हृदयाघात भएको देखिएको थियो। डाक्टरले शान्त ठाउँमा बस्न भनेका थिए तर उनी घना सहरमै बस्नुपर्‍यो।

गाडीको हर्न र सबै किसिमको चर्को आवाजबाट टाढा बस्नू भनेपछि उनले जनकपुर सहर छाडेका छन्। अहिले उनी आफ्नो पुर्ख्यौली गाउँ महोत्तरीको बलबा पुगेका छन्। रामानन्द चोककै एक महिलाले पनि चर्को ध्वनिका कारण जनकपुरधाम छाड्न बाध्य भएको बताइन्। उनी पनि गाउँतिर पसेकी छन्।

जनकपुरधामका बासिन्दाहरू सवारीसाधनको चर्को हर्नले त हैरान छँदै छन्, यसँगै धार्मिक स्थलमा र सामाजिक–सांस्कृतिक कार्यमा बज्ने लाउडस्पिकर (चर्को ध्वनिको माइक) बाट पनि सताइएका छन्। सामान्य पारिवारिक समारोहमा पनि चर्को आवाजमा गीत बजाउने चलन छ।

esewaLaxmi bank
मधेश प्रदेशको राजधानी जनकपुरधाममा ‘कानै फुट्ने’ गरी ध्वनि प्रदूषण भएको स्थानीयहरू बताउँछन्।

राति अबेरसम्म सवारीसाधनको चर्को हर्न बज्छ। मध्यरातसम्म धार्मिक स्थल र पारिवारिक समारोहमा लाउडस्पिकर बज्छ। जानकी मन्दिर र अस्पताल रोड वरिपरि बिहानैदेखि अबेर रातिसम्म गाडीको हर्न बजिरहन्छ। ठूला गाडीले प्रेसर हर्न बजाउँछन्। यस्तो चर्को ध्वनिले निदाउन नपाउने समस्या छ। अस्पताल, स्कुल र बस्ती क्षेत्रमा पनि चालकले चर्को हर्न बजाउने गरेका छन्।

Nchl
The web
सहरी क्षेत्रमा प्रेसर हर्न बजाउन कानूनले रोक लगाएको छ। जनस्वास्थ्य सेवा ऐन, २०७५ ले ‘ध्वनि, वायु तथा जल प्रदूषणले जनस्वास्थ्यमा पार्ने प्रभाव न्यूनीकरणका लागि संघीय कानून बमोजिम नेपाल सरकारले मापदण्ड निर्धारण गर्न सक्ने’ प्रावधान छ।

कानुन भएपनि जनकपुरधाममा यस्तो चर्को ध्वनि नियन्त्रणका लागि कसैले चासो देखाएको छैन। न स्थानीय सरकारले ध्वनि प्रदूषण नियन्त्रणमा ध्यान दिएको छ न प्रहरी प्रशासनले नै कुनै पहल गरेको छ। न त प्रदेश सरकारले वास्ता गरेको छ।

युवा अभियानी सरोज मिश्रले आफूहरूले ट्राफिक प्रहरी र नगरपालिकालााई ध्वनि प्रदूषण रोक्न बारम्बार ध्यानाकर्षण गराए पनि वास्ता नगरेको बताए।

‘नियमले नगर क्षेत्रमा म्युजिकल हर्न बजाउन रोक लगाएको छ तर यहाँ त चालकले बसमा मात्र होइन मोटरसाइकमा समेत म्युजिकल हर्न बजाउँछन्,’ मिश्र भन्छन्, ‘ध्वनि प्रदूषण नियन्त्रण गर्ने दायित्व नगरपालिकाको पनि हो। उसले ट्राफिकसँग समन्वय गरेर काम गर्नु पर्ने हो।’

जनकपुरधाम उपमहानगरपालिका–१० का बासिन्दा राजीव रौनियारका अनुसार चाडपर्वको समयमा झन् बढी ध्वनि प्रदूषण हुन्छ।

‘सवारीको कानै खाने आवाजले त हैरानै परेका छौँ त्यसमाथि पूजाको नाममा ठूलो डिजे साउन्ड बजाउने चलन छ। यसको आवाजको र समयको सीमा छैन। जोसुकैले जुनसुकै समयमा पनि चर्को आवजमा बजाउँछन्,’ उनी भन्छन्, ‘रातभरि सुत्न पाइँदैन। यस्तो ध्वनि प्रदूषण नियन्त्रणका लागि तुरुन्तै काम होस् भन्ने हाम्रो माग छ।’

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, जनकपुर शाखाका प्रमुख डा. राजेश साहका अनुसार जनकपुर क्षेत्रमा ध्वनि प्रदूषणको समस्या निकै ठूलो छ।

उनी भन्छन्, ‘ध्वनि प्रदूषणले मुटुको धड्कन बढाइदिन्छ, ब्लड प्रेसर (रक्तचाप) बढाउँछ। साइकलजिकल स्ट्रेस (मानसिक तनाव) बढाउँछ। कानमा असर गर्छ। बालबालिकाहरूलाई झन् बढी समस्या हुन्छ।’

उनले लगातरको चर्को ध्वनिले मानिसमा हृदयाघातको सम्भावना बढी हुने बताए।

ध्वनि प्रदूषणले जनस्वास्थ्यमा धेरै असर पुग्छ भन्ने थाहा हुँदाहुँदै पनि सम्बद्ध निकायले नियन्त्रणका लागि काम नगरेको उनको गुनासो छ।

भन्छन्, ‘जनकपुर क्षेत्रमा ध्वनि प्रदूषण धेरै छ। जानाजान यस्तो प्रदूषण गर्नु मानव अधिकारविरूद्ध हो। नगरपालिका र प्रहरीले ध्यान दिने हो भने नियन्त्रण हुन्छ।’

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मान्यताअनुसार ७० डेसिबलभन्दा माथिको आवाज भएमा ध्वनि प्रदूषण मानिन्छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद र डब्लुएचओको एक प्रतिवेदनअनुसार जनकपुरका चारवटा मुख्य चोकको ध्वनि २० वर्षअघि नै प्रदूषणको स्तरमा पुगेको थियो। त्यसयता यहाँ अध्ययन भएको छैन।

सवारी साधनको चाप र बढ्दो डिजे संस्कृतिका कारण २० वर्षअघिको तुलनामा ध्वनि प्रदूषण धेरै बढेको चिकित्सकहरूको अनुमान छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख रहेका प्रहरी निरीक्षक शेखर साहका अनुसार ट्राफिक प्रहरीले बस चालकलाई प्रेसर हर्न नबजाउन सचेत गराउँदै आएको छ। अनावश्यकरुपमा प्रेसर हर्न बजाउनेलाई कारबाही थालिएको उनको भनाइ छ तर प्रहरी सफल हुन सकेको छैन।

‘चर्को हर्न नबजाउन आग्रह गर्दा चालकहरू वादविवाद गर्छन्, निहुँ खोज्न आउँछन्। आवश्यक परेका बेला सामान्य हर्नमात्र बजाउन आग्रह गरेका छौँ,’ उनी भन्छन्, ‘बस व्यवसायी संघलाई पनि भनका छौँ तर अटेरी भएको छ।’

उनले करिब सयवटा बसबाट प्रेसर हर्न निकालेको पनि बताए। उनका अनुसार ध्वनि प्रदूषण नियन्त्रण प्रहरी एक्लैबाट सम्भव छैन।

भन्छन्, ‘हामी (प्रहरी) ले मात्र प्रयास गरेर निन्त्रण हुँदैन। स्कुल र अस्पतालजस्ता संवेदनशील क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गर्न जरूरी छ। यसमा सबैको छलफल हुनुपर्छ। हामी नगरपालिकासँग छलफल गर्ने तयारी गर्दै छौँ।’

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले भने ध्वनि प्रदूषण नियन्त्रण नहुनुमा प्रहरीकै दोष देखाए।

उनले भने, ‘ट्राफिक प्रहरीले नियन्त्रण गर्नुपर्ने हो तर सकेको छैन। हामी छलफल गर्छौं। नियम नमान्नेलाई जरिवाना गर्नुपर्छ।’

धनुषा जिल्लामा चर्को ध्वनिमा डिजे बाजा नबजाउन जिल्ला प्रशासन कार्यालयले धेरै पटक सूचना जारी गरेको छ। पछिल्लो पटक २०७९ फागुन १९ गते (आठ महिनाअघि) जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकले राति १० बजेपछि डिजे, लाउडस्पिकिर र चर्को आवाज दिने यस्तै अन्य उपकरण नबजाउने निर्णय गरेको थियो।

उक्त निर्णयअनुसार सूचना जारी भए पनि ध्वनि प्रदूषण निन्त्रन्त्रण भएको छैन।

जनकपुरधाम उपमहानगरपालिका–४ की बासिन्दा जमुना भुजेल आफ्नो बस्तीमा बसोवास नै कठिन भएको बताउँछिन्।

‘मेरी आमा दीर्घरोगी हुनुहुन्छ। चौबीसै घण्टा अक्सिजन दिनुपर्छ। डाक्टरले चर्को आवाजबाट टाढा राख्नू भनेको छ,’ उनी भन्छिन्, ‘यहाँ वरिपरि मन्दिर छन्। सधैँ ठूलो आवाजमा भजन बजिरहेको हुन्छ। बिहेको समयमा त झन् बसिनसक्नु हुन्छ।रोगीलाई मात्रै होइन, स्वस्थ व्यक्तिलाई पनि समस्या परेको छ। समयको र आवाजको सीमा तोकेर मात्र बाजा र हर्न बजाउन दिनुपर्ने हो।’ स्रोत : सेतोपाटी

प्रकाशित मिति: २०२३-१०-३१ , समय : ०८:२७:५५ , ४ महिना अगाडि