महोत्तरीबाट एक नक्कली पत्रकार पक्राउ

रेडियो गौशाला , ८३९७  पटक हेरिएको

महोत्तरी । महोत्तरीको सम्सीबाट एक नक्कली पत्रकार पक्राउ परेको छ ।

अवनी मिडिया हाउसद्धारा संचालित अनलाइन समाचार पोर्टल जनकपुरपोष्ट डटकमको पत्रकार परिचय–पत्र (प्रेसकार्ड) दुरुपयोग गरेर ठगी गर्ने एक जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।

आफूलाई दीपक कर्ण नाम बताउने व्यक्तिले प्रेस कार्डको दुरुपयोग गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । दुरुपयोग गरिएको सो प्रेस कार्ड नक्कली रहेको र सो पास जनकपुरपोष्टको आधिकारिक परिचय–पत्र नरहेको अवनी मिडिया हाउसका संचालक अमरेश मल्लिकले स्पष्ट पारेका छन् । पक्राउ परेको व्यक्तिले प्रयोग गरेको परिचय–पत्रको जनकपुरपोष्टसंग कुनै सम्बन्ध नरहेको समेत संचालक मल्लिकले प्रष्ट पारेका छन् ।

नक्कली कार्ड बनाएर ठगी गर्नेलाई प्रहरीले कानुन बमोजमिक कडा कारवाही गर्नु पर्ने उनले माग गरेका छन् । यता, पक्राउ परेका माथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

साथै, नेपाल पत्रकार महासंघ महोत्तरीका कार्यवाहक अध्यक्ष सुनिता बरालले सो व्यक्ति महोत्तरीका कुनै मिडियासंग आवद्ध नरहेको र आवश्यक छानबिन सहित कडा कारवाहीको समेत मांग गरिएको छ ।

प्रकाशित मिति: २०२३-१२-३० , समय : ११:०३:२४ , २ महिना अगाडि