मसलाको रुख मधेशवाट बिस्थापन नगरे केही बर्षमा नै मरुभुमिकरण वन्ने विज्ञहरुको चेतावनी

रेडियो गौशाला , १६८८  पटक हेरिएको

विशाल बस्नेत, गौशाला । सदावहार हरियाली देखिने, छिटो वृद्धि विकास हुने र काठको लागी समेत उपयोगी मसलाको रुख मधेशका जंगलमा मात्र हैन किसानहरुको खेतमा समेत देख्न सकिन्छ ।

आयआर्जनका हिसावले समेत अन्य विरुवाहरुको तुलनामा निक्कै उत्कृष्ट मानिने यो रुखका जति सुन्दर पक्ष छन त्यतिकै मानवजिवनसगँ जोडिएका कुरुप विशेषता पनि छ्न भन्दा धेरैलाई अचम्म लाग्न सक्छ ।

हो पछिल्ला अध्यणहरुले मसलाको रुख कै कारण मधेश मरुभुमितर्फ उन्मुख हुँदै गएको देखाएको छ ।यो रुख पारिस्थितिक प्रणालीका हिसावले मात्र घातक हैन पानीका मुहानहरु सुकाउने मुख्य अस्त्र वनेको बिज्ञहरु वताउछन ।

लामो समयदेखि चुरे र वातावरणिय क्षेत्रमा काम गर्दै आएका नागदेव यादवका अनुसार एउटा वयस्क रुखले ६२ लिटरसम्म पानी पिउने गर्दछ । वरपर लामो दुरिसम्मको पानीलाई चुम्बक जसरी तान्ने हुदा उत्पादनमा समेत मसलाको रुख घातक वनिरहेको उन्को भनाई छ ।

यो रुखले पारिस्थितिक प्रणालीमा समेत उथलपुथल बनाईरहेको एक अध्यणले देखाएको छ । यहाँ न चराचुरुङ्गीले बासस्थान बनाउछन न त किराहरुले नै । वनमा लगाईएको मसलाका रुखहरुले त अन्य रुखहरुको अस्तित्व नै नष्ट गर्ने गरेको बिज्ञहरुको निष्कर्ष छ ।

यो रुख वातावरणिय हिसावले निक्कै घातक रहेको स्थानियहरुले समेत महसुस गर्न थालेका छन । ५ बर्ष अगाडीसम्म पानी पाईरहने मुहानहरु यो रुख कै कारण सुकेका र सुक्ने क्रम जारी रहेको बर्दिवास-७ रमदेव महतो वताउछन ।

`यो बिरुवा छिटो बढेपछी स्थानियहरुको आकर्षण त बढयो तर बिस्तारै यही रुखको कारण मरुभुमी बनेको चै कसैलाई थाहा नै छैन ।´ उन्ले भने । `हामीले त लगाउन छाडीसक्यौ ।´

अन्य रुख भएको ठाउँमा बाक्लै घाँस पाइने तर मसला रुखहरु भएको ठाउँमा घाँस नै नपाईने गरेको महतोको अनुभव छ । महतोले आजकाल यही कारणले बाख्रा, बस्तु समेत पाल्न छाडेका छन । जंगलभरी मसलाका रुखहरु फैलदै गएपछी पशुपालनको समस्या बढीरहेको उन्को बुझाई छ ।

`यो मैले मात्र हैन गाउँभरीका धेरै मानिसहरुले बुझेका छन ।´ उन्ले भने । ` अब यो बिरुवा र रुखको अस्तित्व मधेशवाट नै मेटनुपर्छ ।´

२०३४ सालतिर सागरनाथ वन परियोजनाले एक भारतिय प्रोजेक्टको माध्यमवाट नेपाल भित्र्याएको यो रुख अहिले मधेशभरी फैलिएको छ । सागरनाथ वन परियोजना अन्तर्गतका र वन डिभिजन अन्तर्गतका जंगलमा मात्र हैन किसानका खेतवारीमा समेत यो रुख व्यवसायिकरुपमा प्रयोग गरिएको छ ।

यस्को पातमा समेत एसिड हुने गरेको विभिन्न अध्यणले पुष्टि गरेको छ । जसका कारण पात जमिनमा झरेर जादा वरिपरिको हरियोपनलाई नष्ट गर्ने र अन्य झारपातहरु समेत उम्रन नदिएर जमिनलाई नै बन्झर बनाउने अर्को समस्या रहेको बिज्ञहरु वताउछन ।

स्थानिय बासिन्दाहरु मसलाको रुख कै कारण खेतीपातीवाट समेत पलायन हुनुपर्ने स्थिती सिर्जना भएको गुनासो गर्छन । गौशाला नगरपालिका कि गीतादेवी भन्छिन : `गाउँलेले खेतमा रोपेका विरुवाका कारण समस्या बढीरहेको छ । कलको पानी सुकेको छ भने इनार पनि धमाधम सुकिरहेका छन ।´

तथ्यांकअनुसार सागरनाथ वन परियोजना अन्तर्गत १० हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा यो बिरुवा लगाईएको छ । १ बिघामा १६ सयसम्म बिरुवा रोपिने हुदा सागरनाथ वन परियोजनामा मात्र १ करोड भन्दा बढी मसलाका बिरुवाहरु हुन सक्ने जिल्ला वन कार्यालय महोत्तरीका प्रमुख सन्तोष झा वताउछन ।

अझ किसानहरुले खेतका डिल र खेतमा व्यवसायिक खेती नै गरेको देखिएको छ । जस्ले उत्पादनमा समेत कमि आएको स्वयम् किसानहरुको अनुभव छ । `५ बर्ष अगाडीसम्म खेतमा राम्रै उत्पादन हुन्थ्यो तर आजकाल यो मसलाको रुख रोपेको २ सय मिटर वरपरसम्म उत्पादन नै हुन छाडयो ।´ रामगोपालपुरका स्थानिय किसान रामसरोज यादवले भने । ` ५ बर्ष अगाडी उत्पादित उपज बेच्थे, अहिले किन्नुपर्छ ।´

धनी वनाउने उदेश्यले भित्र्याईएको यो रुख कतै भारतको स्वार्थमा त भित्र्याईएको हैन भन्ने समेत किसानहरुले आसंका गर्न थालेका छन । भारतको तमिल नाडुवाट सुरु भएको बिरुवा अहिले भारतको धेरैजसो भुभागमा पाइन्छ । यो रुखलाई व्यवसायिक वनाएको ठाउँ भारतमा समेत किसानहरुलाई निक्कै समस्या वढदै गएको वन अभियन्ताहरु वताउछन ।

अहिले मधेशका निजि भुभागमा समेत गरेर झण्डै ६ करोड बिरुवा रहेको आकलन गरिएको छ । पर्यावरणविद चिरञ्जीवी भट्टराई यो विरुवाको बिषयमा थप अध्यण गरि निष्कर्षमा पुग्नुपर्ने वताउछन ।

यसैलाई लिएर मधेश प्रदेशको वन तथा वातावरण मन्त्रालयमा छलफल र बहस भैईरहेको छ । वन तथा वातावरण मन्त्रालय मधेश प्रदेशका सुचना अधिकारी बेचन कुमार महतोको अनुसार मसलाको रुखलाई लिएर बिज्ञहरुविच गम्भीर छलफल भैइरहेको वताउछन ।

रुखको स्वभाव कै कारण पर्यावरणमा असर पर्ने आकलन गर्न सकिने वताउदै जमिनमुनि र जमिनमाथीको भाग बराबर हुने हुदा पनि पानीको मात्रा अन्य वोटविरुवाको तुलनामा वढी पानी खपत गर्न सक्ने उन्को भनाई छ ।

`अनुभव नै वास्तवमा बिज्ञान हो । त्यसो हुदा स्थानिय तथा भुक्तभोगीहरुको अनुभव सुन्दा यो रुख हानिकारक नै भएको अनुमान लगाउन सकिन्छ ।´ सुचना अधिकारी महतोले भने । `थप अध्यण गरेर सरकारले सकेसम्म नीति नै बनाउदा राम्रो हो ।´

सडक सौन्दर्यका लागी समेत सडक बिभागले यो रुख दायाँबायाँ रोप्दै आएको छ । जुन दुर्घटनाको कारक समेत वनिरहेको देखिएको छ । यस्को हागा निक्कै कमजोर हुने हुदा सानोतिनो हावाहुरीले पनि असर पुर्‍याउन सक्ने हुदा सडक अवरोधका साथै दुर्घटना समेत बढीरहेको ट्राफिक तथ्यांकले पुष्टि गर्दछ ।

यस्को हागा भाचिएर सडकमा दुर्घटना हुदा एक बर्षको अवधीमा झण्डै १० जनाको मधेशमा ज्यान समेत गैइरहेको प्रहरीको तथ्यांक छ ।

कृषि बिज्ञ राजेन्द्र देवकोटाका अनुसार यो रुख २५ देखि ५० मिटर अनि २ मिटर सम्म को गोलाई हुन्छ | अस्ट्रेलियाको तास्मिनिया टापुमा यसको उत्पति भएको मानिन्छ | भारतमा १८४३ मा बेलायती नागरिकले तामिल नाडूमा ल्याएर रोपेपछि भारत लगायत यसको बिरुवा नेपाल सम्म विस्तार भएको मानिन्छ |

प्रकाशित मिति: २०२४-०१-०७ , समय : २०:१९:५६ , २ महिना अगाडि