बरहथवा घटना : आन्दोलनरत पक्षसँग ११ बुँदे सहमति, छानविन समिति काठमाडौंबाट हिड्यो

रेडियो गौशाला , २०६३  पटक हेरिएको

सर्लाही । सर्लाहीको बरहथवा घटनालाई लिएर आईतबार साँझ जिल्ला प्रशासन कार्यालय सर्लाहीमा भएको छलफलबाट सहमती जुटेको छ ।

बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्र मधेश सरकारलाई हस्तान्तरण गरी ५० शैय्याको बनाउने, सो अस्पतालको नाम प्रहरीको गोली लागेर मृत्यु भएका जयशङ्कर साहको नामबाट नामाकरण गर्ने, मृतकको परिवारलाई रोजगारी प्रदान गर्नेलगायत विषयमा सहमती भएको हो ।

यो सहमतीसँगै गएको शुक्रबार दिउँसो प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका बरहथवा नगरपालिका ६ का ३० वर्षीय जयशङ्कर साहको शव आईतबारनै घटनास्थलबाट उठ्ने भएको छ । मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्रप्रसाद सिंह, बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवाल, प्रमुख जिल्ला अधिकारी
कोमलप्रसाद धमला, प्रदेश तथा जिल्लाका सुरक्षा अधिकारी, राजनीतिक दलका प्रमुख, आन्दोलित दलका नेता र पीडित पक्षबीच सहमती भएको र सो सहमतीलाई लिखित गरेर हस्ताक्षर गर्नेक्रम काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

छलफलमा सहभागी प्रदेश सभा सदस्य कौशलकिशोर रायले सहमती भएको पुष्टी गरेका छन् ।

छानविन समिति काठमाडौंबाट हिड्यो

सर्लाहीको बरहथवा घटनामा गृह मन्त्रालयले गठन गरेको छानविन टोली आईतबार राती सर्लाही आईपुग्दै छ ।

गृह मन्त्रालयले शनिबार सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहेको छानबिन समिति गठन गरेको थियो ।

सर्लाहीमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी समेत सम्हालिसकेका सहसचिब गौतम नेतृत्वको टोली (आईतबार) साँझ काठमाडौंबाट सर्लाहीतर्फ प्रस्थान गरिसकेको छ । ‘छानबिन समितिका हाँमी तीनै जना काठमाडौंबाट हिँडिसक्यौ, राती अबेरसम्म सर्लाही आईपुग्छौं’, समितिका संयोजक गौतमले भने, ‘भोली बिहानबाट सरोकारवाला सबै पक्षसँग छलफल सहित छानबिनको प्रकृया अगाडी बढाउँछौं ।’

गृह मन्त्रालयले बरहथवा गोली काण्डको सत्यतथ्य छानविन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्नेगरि शनिबार सहसचिब गौतमको संयोजकत्वमा समिति गठन गरेको थियो । मन्त्रालयले छानबिन समिति गठन सहित प्रहरीको गोली लागि मृत्यु भएका जयशंकर साहका परिवारलाई राहत स्वरुप १० लाख रुपैंया उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति: २०२४-०१-०७ , समय : २०:४०:२० , २ महिना अगाडि