अब बर्दिवासमा मेडिकल कलेज बन्ने पक्का

रेडियो गौशाला , १५०९०  पटक हेरिएको

 बर्दिवास- महोत्तरीको बर्दिवासमा मेडिकल कलेजको लागि तोकिए कै स्थानमा पूर्वाधार निर्माण गर्ने कार्य निश्चित भएको छ।

नेपाल सरकारको बुधवार बसेको मन्त्री परिषदको निर्णयबाट बर्दिबास मेडिकल कलेजको जग्गा प्राप्ति र रुख कटान गर्न दिने निर्णय गरेको र बिहिवार उक्त निर्णयम मुख्यसचिवबाट प्रमाणित भइआधिकारिक रुपमा निर्णय कार्यन्वयनको कार्य अगाडी बढेको जानकारी बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले गराएकाे छ।

मेयर क्षेत्रीले सबैको अथक प्रयासले बर्दिवासमा निर्धारित स्थानमा नै अब मेडिकल कलेज बन्ने पक्का भएको बताए । उनले यसको लागि पूर्व मन्त्री गिरिराज मणि पोखरेल लगायत प्रधानमन्त्री प्रचण्ड, वन मन्त्री, शिक्षा मन्त्री, आयोजना प्रमुख, बर्दिबास उधोग बाणिज्य संघको साथै प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण नगरबासीहरुमा हार्दिक आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेका छन् । उनले अब चाडै निर्माण कार्य अगाडी बढ्ने जनाए ।

बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाले विभिन्न शर्तहरु पालना गर्नेगरी बर्दीवास नगरपालिका वडा नम्बर ४ मा पर्ने माइस्थान सामुदायिक वन क्षेत्रको ५४.५८४ हेक्टर जग्गा प्रयोग गर्न र सो जग्गामा रहेका विभिन्न प्रजातिमा १९६७ वटा रुख पोल हटाउन स्वीकृती प्राप्त गरेको छ।

रुख कटानको स्वीकृतिसँगै मेडिकल कलेजको पूर्वाधार निर्माण अघि बढ्ने भएपछि बर्दिवासवासी खुसी भएका छन् । बर्दिवास मेडिकल कलेज प्रस्तावित जग्मामै बन्नुपर्ने भन्दै यस क्षेत्रका सरोकारवालाले लामो समयदेखि संघर्ष गर्दै आएका थिए ।

वनक्षेत्रमा कलेज निर्माण रोक्न भन्दै सर्वोच्चमा २०७८ मा परेको रिट अदालतले गत जेठ २९ गते खारेज गरेको थियो । यता बर्दिवास नगरपालिकाले भने कलेजको पूर्वाधार निर्माण गर्दा काटिन सक्ने रुखका कारण पर्यावरणमा पर्नसक्ने असर रोक्न भन्दै ०७८ सालदेखि नै वृक्षारोपण अभियान संचालन गरिरहेको छ ।

तोकिएको क्षेत्रमा पर्ने १९ सय ७६ रुखमा जतिसक्दो धेरै रुख बचाएर पूर्वाधार निर्माण गर्ने योजना रहेकाले ६ सय बढी रुख कटान नहुने मेडिकल कलेजका पूर्वाधार निर्माण कार्यालयका प्रमुख देवीप्रसाद सुवेदीले बताए ।

प्रकाशित मिति: २०२४-०१-१९ , समय : ०८:३७:३२ , ३ महिना अगाडि