सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको छ: सञ्चारमन्त्री

रेडियो गौशाला , ८६५  पटक हेरिएको

काठमाडौं, २२ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको बताएकी छन्।

सोमवार नेपाल टेलिकमको २० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएकी हुन्। उनले सूचना प्रविधिको आधारभूत पूर्वाधार दूरसञ्चार नै रहेको बताइन्।
सरकारको डिजिटल नेपालको अवधारणा कार्यान्वयन गर्न अप्टिकल फाइबर बिस्तार गरी सूचना महामार्ग निर्माण गर्ने, मुलुकका सबै क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच र गुणस्तर वृद्धि गर्नेतर्फ कम्पनीका कार्यक्रमहरू लक्षित रहेको उनको भनाइ छ।

मन्त्री शर्माले समग्र दूरसञ्चारको क्षेत्रमा देखिने बेथिति र अन्योल हटाउन मन्त्रालयले नीति र प्रशासनिक दुवै खालका काम अघि बढाइरहेको दाबी गरिन्।
उनले लाइसेन्स खारेज भएका कम्पनीका सम्पत्ति व्यवस्थापन गर्ने कानुन संशोधनदेखि, एनसेलको शेयर बिक्री खरिद प्रकरणमा छानबिन गरी प्रतिवेदन लिने लगायतका काम सरकारले गरिसकेको बताइन्।

उनले यस वर्ष मात्रै सरकारले नयाँ फ्रिक्वेन्सी नीति, २०८० जारी गरेर नेपालको विकासमा अत्यावश्यकीय र राष्ट्रलाई महत्वपूर्ण योगदान दिने दूरसञ्चार क्षेत्रलाई थप व्यवस्थित गर्नेगरी कार्यान्वयनमा ल्याएको पनि बताइन्।

मन्त्री शर्माले अब जतिसक्दो छिटो अनलाइन प्रणालीमा जान जरुरी रहेको र त्यसका लागि डिजिटल पूर्वाधार अनिवार्य शर्त रहेको बताइन्। उनले कर्मचारीहरूको पेशागत, हक, हितको रक्षा गर्ने दायित्व पहिलो दायित्व भएको पनि बताइन्।

प्रकाशित मिति: २०२४-०२-०५ , समय : २०:३०:०६ , ३ हप्ता अगाडि