रेडियो गौशाला , १९३९ पटक हेरिएको
बर्दिबास, माघ २२ गते । दिगो विकासतर्फ बर्दिवास नगरपालिकाले ग्रीन सिफ्ट परियोजनासँग आधिकारिक रूपमा साझेदारी गरेको छ । चक्रिय अर्थतन्त्र प्रवर्द्धन गर्नका लागि युरोपेली संघको सहयोगमा चार वर्षीय परियोजनाको कार्यन्वयन हुन लागेको हो ।
यस परियोजनाको कार्यान्वयन गर्ने नेतृत्व क्रिएसनले लिएको छ भने, यसका कन्सोर्टियम साझेदारहरू रिस्टेलिस डेभलपमेन्म र युथ इनोभेसन ल्याब रहेका छन् । त्यसैगरी बर्दिवास नगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि तथ्यांक संकलन, अनुसन्धान र नीति निर्माणमा सहयोग गर्न नगरपालिकामा फेलो राख्नका लागि वेस्ट स्मार्ट फेलोसिप सम्झौता ज्ञापन पत्रमा पनि हस्ताक्षर गरेको छ ।
बर्दिवास नगरपालिकाका उपमेयर तारा देवी महतोले साझेदारीप्रति उत्साह व्यक्त गर्दै भनिन् , ‘हामी यस परियोजनामा हस्ताक्षर गर्न र साझेदारहरूसँग मिलेर काम गर्न पाउँदा धेरै खुसी छौं। हामी आशावादी छौं कि प्रस्तावित गतिविधिहरूले हाम्रो नगरपालिकालाई प्लास्टिक फोहोर व्यवस्थापन क्षेत्रमा ठूलो प्रभाव पार्ने छ, र हामी यस परियोजनालाई कार्यान्वयन गर्न हाम्रो पूर्ण सहयोगको वाचा गर्दछौ ।“
बर्दिवास नगरपालिकासहित ग्रिनसिफ्ट नेपाल परियोजनाले बागमती, लुम्बिनी र मधेश प्रदेशका ९ ओटा पालिकामा काम गरिरहेको छ । ग्रीनसिफ्ट नेपालले फोहोर सङ्कलन गर्ने उद्योग, साना तथा मझौला उद्योग, सफाइकर्मीहरुको संस्था, युवाहरू, विद्यालयका बालबालिकाहरू र तीन तहका सरकारहरूसँग मिलेर काम गर्नेछ । परियोजनाले सरसफाइ क्षेत्रमा आबद्ध उद्यमीहरूको क्षमता निर्माण गर्न उनीहरूको प्लास्टिक फोहोर संकलन क्षमता अभिवृद्धि गर्ने; प्लास्टिक वैकल्पिक उत्पादन र प्याकेजिङ्गको प्रवर्द्धनको लागि साना तथा मझौला उद्योगलाई समर्थन गर्ने; ज्ञान र चेतना अभिवृद्धि गर्न विद्यार्थीहरूसंग काम गर्ने; युवाहरूलाई पैरवी र सचेतना अभियानहरूमा संलग्न गराउने; र युवा र सफाइकर्मीहरुको संस्थाको सक्रिय संलग्नता मार्फत समावेशी र प्रमाणमा आधारित नीतिनिर्माणका लागि तीन तहको सरकारलाइ सहयोग गर्ने उद्देश्य राखेको छ ।
यसैगरी, नेपालको सन् २०४५ सम्ममा नेट शून्य उत्सर्जन हासिल गर्ने प्रतिबद्धतालाई यस परियोजनाले प्रवर्धन गर्दछ । यसले सन् २०३० सम्ममा १०० नगरपालिकाहरूमा फोहोर छुट्याउने र फोहोरबाट ऊर्जा बनाउन पहल गर्ने प्रतिबद्धता राखेको राष्ट्रिय निर्धारित योगदान (एनडीसी) लक्ष्यहरूमा पनि योगदान पुर्यायउँने लक्ष्य लिएको छ ।
नीति विकास, सचेतना अभियानहरू, र क्षमता–निर्माण पहलहरूमा सक्रिय संलग्नताको माध्यमबाट, बर्दिवास नगरपालिकाले चक्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेको छ, जसले गर्दा दिगोपन र वातावरणीय व्यवस्थापनका राष्ट्रिय लक्ष्यहरूमा योगदान पुर्याउँछ ।
प्रकाशित मिति: २०२४-०२-०५ , समय : २१:१३:५२ , ८ महिना अगाडि