धनुषामा एक सातादेखि बेपत्ता रुवीको हत्या भएको खुलासा

रेडियो गौशाला , १५९६  पटक हेरिएको

जनकपुरधाम – बेपत्ता भएको भनिएकी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ सखुवा महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको हत्या आफैंले गरेको उनका श्रीमान राजु यादवले स्वीकारेका छन् ।

जेठ २६ गते महेन्द्रनगरबाट रुवी बेपत्ता भएको भनेर उनका श्रीमान् राजुले प्रहरीलाई जानकारी गराउँदै खोजविनका लागि अनुरोध गरेका थिए ‌। प्रहरीले अनुसन्धान गर्दा राजुले स्वयं बेपत्ता पारेको निष्कर्षमा पुग्यो ।

इलाका प्रहरी कार्यालय सखुवाले राजुलाई बिहीबार नियन्त्रणमा लिएर सुक्ष्म ढंगले अनुसन्धान थाले । हिरासतमा बसेको दुई दिनपछि राजुले श्रीमतीको हत्या गरेको स्वीकारेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन‌‌‌ अवाले जानकारी दिए । ‘राजुले दिएको लोकेसनमा सर्च गर्दा रुवीको शव फेला परेको छ,’ उनले भने, ‘मिथिला नगरपालिकाको सामुदायिक वनको खोल्सामा शव भेटिएको हो ।’

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको उनले बताए ‌।

जेठ २६ मा औरही बाबाको दर्शन गर्नका लागि भन्दै श्रीमती रुवीलाई खोल्सामा पुर्‍याएर राजुले हत्या गरेको अनुसन्धानबाट खुलेको डीएसपी अवाले बताए ।

प्रकाशित मिति: २०२४-०६-१६ , समय : १८:१९:१६ , ४ हप्ता अगाडि