महोत्तरीमा रोकिएन अझै पनि काठ तस्करी

रेडियो गौशाला , ५२९५  पटक हेरिएको

महोत्तरी –  महोत्तरीमा काठ तस्कर अझैसम्म पनि रोकिएको छैन । काठ तस्करी नरोकिदाँ वन अतिक्रमणमा वृद्धि भएको छ । वनकर्मीले जंगली क्षेत्रसंँग जोडिएका विभिन्न स्थानमा छापा मारी तस्करसहित ७८ क्युफिट बराबरको काठ तथा दुई थान मोटरसाइकल नियन्त्रणमा लिएका छन् ।

सो परियोजनाको जंगलबाट पनि साखुका ५८ क्युफिट काठसहित तस्कर पक्राउ परेका छन् । वनकर्मीको टोलीले गौशाला नगरपालिका–८ स्थित बेलगाछीमा रहेको अमृत समिल तथा फर्निचर उद्योगमा छापा मारी ६५.५० क्युविक फिट बराबरको नौ थान सिसौका गोलिया तथा २.८१ क्युफिटका २० थान साखुका चिरान काठ बरामद गरेको छ ।

जंगली क्षेत्र आसपासका समिल तथा फर्निचर उद्योगले अवाञ्छित रूपमा काठ ढुवानी गरेको सूचनाका आधारमा माइस्थानस्थित सबडिभिजन वन कार्यालयका प्रमुख कृष्णकान्त पटेल तथा सशस्त्र वन सुरक्षा शाखा कमान्डर अवतार लामा नेतृत्वको संयुक्त गस्तीले सो फर्निचर उद्योगलाई अघिल्लो रातदेखि नै निगरानीमा राखी कारबाही अगाडि बढाएको छ ।

छापामारका क्रममा झडप हुने सम्भावनाका कारण रामनगरस्थित सशस्त्र प्रहरी बेस क्याम्पबाट थप बलसहित खोजी गर्दा समिल परिसरबाट काठ बरामद गरिएको थियो । फरार रहेका समिल सञ्चालक सञ्जितकुमार शर्माविरुद्ध वन मुद्दा दर्ता गरी कारबाही अगाडि बढाएको पटेलले जनाए । समिलमाथि निगरानी बढाइरहेका बेला रातको समयमा अर्को सूचना प्राप्त भएपछि सूचनाका आधारमा गौशाला–१० स्थित बटौवामा पुगेर सर्च गर्दा राति करिब १ बजेतिर जंगली बाटोतर्फ जाने सडक किनारामा स्याउलाले छोपिराखेको अवस्थामा वनकर्मीले सात क्युफिट बराबरका दुई थान साखुका गिँड बरामद गरेका थिए ।

यसको अघिल्लो राति पनि २.४ क्युफिट बराबरको एक थान टिकको काठ र दुई थान मोटरसाइकलसहित गौशाला–१० स्थित बटौवाका ३० वर्षीय काठ तस्कर अयज यादवलाई पक्राउ गरिएको सबडिभिजन प्रमुख पटेलले बताए । सशस्त्र वनरक्षकसहितको रात्रिकालीन गस्तीले फायरलाइनस्थित सगरनाथ वन विकास परियोजनाको जंगलबाट राति करिब १ बजेतिर एक थान टिक प्रजातिको काठलाई दुई वटा मोटरसाइकलमा राखेर बस्तीतर्फ लैजाँदै गरेको अवस्थामा घेराबन्दी गरी यादवलाई नियन्त्रणमा लिएको छ ।

त्यसक्रममा पक्राउ परेका यादवका एक जना मतियार भाग्न सफल भए पनि उनीहरूले प्रयोग गरेका दुई थान मोटरसाइकललाई नियन्त्रणमा लिई कारबाही अगाडि बढाइएको सबडिभिजन वन कार्यालय माइस्थानले जनाएको छ । स ा े बरामद भएकामध्ये केही काठ टुटेश्वर र केही लक्ष्मीनियाँस्थित खयरमारा सबडिभिजनको जिम्मामा राखिएको छ । पक्राउ परेका यादवलाई माइस्थान सबडिभिजन कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको पटेलले बताए ।

प्रकाशित मिति: २०२४-०९-१० , समय : ०९:१६:५४ , ४ हप्ता अगाडि