जसपाको घोषणापत्रमा स्वास्थ्यका ११ विषय

रेडियो गौशाला , ८७५  पटक हेरिएको

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरी घोषणापत्र सार्वजनिक गरेको छ।

जसपाले सार्वजनिक गरेको घोषणापत्रमा स्वास्थ्यका ११ वटा बुँदा समेटिएका छन्। संघीय ढाँचा अनुरुप स्वास्थ्य नीति तर्जुमा गरी स्वस्थ जनता परिवर्तनका संवाहक भन्ने अवधारणाका साथ स्वास्थ्य सेवामा सबैको पहुँच बढाउने जसपाले घोषणा गरेको छ।

राजधानीमा केन्द्रित स्वास्थ्य सेवालाई गाउँ गाउँ पु¥याउन उपत्यका बाहिर मेडिकल कलेज र अस्पताल खोल्ने सामुदायिक संस्थाहरुलाई विशेष सुविधा उपलब्ध गराउने, ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका, गरिबीको रेखामुनी रहेका दलित र अपाङ्गता भएका व्यक्तिहरुका लागि सबै रोगको निःशुल्क उपचार सेवा उपलब्ध गराउने लगायत घोषणापत्रमा उल्लेख छ।

जसपाको घोषणपत्रमा रहेका स्वास्थ्य सम्बन्धी ११ बुँदे घोषणा :

१. मुलुकको संघीय ढाँचा अनुरुप स्वास्थ्य नीति तर्जुमा गरी स्वास्थ्य जनता परिवर्तनका संवाहक भन्ने अवधारणाका साथ सबैको स्वास्थ्य सेवा माथिको पहुँच स्थापित गर्ने।

२. स्वास्थ्यको अधिकारलाई मौलिक हकको रुपमा प्रयोग गर्नका लागि राज्यले स्वास्थ्य बिमाको माध्यमबाट जनतालाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने।

३. केन्द्रीकृत राज्यको परिणामस्वरुप राजधानीमा केन्द्रित स्वास्थ्य सेवालाई गाउँ गाउँमा पु¥याउन उपत्यका बाहिर मेडिकल कलेज र अस्पताल खोल्ने सामुदायिक संस्थाहरुलाई विशेष सुविधा उपलब्ध गराउने।

४. जेष्ठ नागरिक, एकल महिला, बालबालिका, गरिबीको रेखामुनी रहेका दलित र अपाङ्गता भएका व्यक्तिहरुका लागि सबै रोगको निःशुल्क उपचार सेवा उपलब्ध गराउने।

५. न्यून आय भएका जनताको मुटु रोग, मधुमेह, क्यान्सर, मस्तिष्क र मिर्गौला सम्बन्धी जटिल रोगहरुको उपचारका लागि राज्यले दिदै आएको सहयोगलाई शत प्रतिशत वृद्धि गर्ने। मिर्गौला प्रत्यारोपण निःशुल्क रुपमा गर्ने व्यवस्था गर्ने।

६. ग्रामीण क्षेत्रमा आकस्मिक दुर्घटना, बाढी पहिरो, प्राकृतिक प्रकोप जस्ता विपद्को बेला सेवा प्रदान गर्न एयर एम्बुलेन्सको व्यवस्था गर्ने।

७. वडाहरुका स्वास्थ्य चौकी स्तरोन्नति गर्ने र प्रत्येक पालिका तहमा वरिष्ठ फिजिसियन सहितको चिकित्सकीय दरबन्दी कायम गरी २५ शय्याको सुविधा सम्पन्न अस्पताल सञ्चालन गर्ने।

८. जडीबुटी प्रशोधन नगरी निकासी गर्ने कार्य बन्द गर्ने। जडीबुटी प्रशोधनको संस्थागत विकास गर्दै आयुर्वेद शिक्षा र अनुसन्धानमा जोड दिने।

९. योग र आयुर्वेद उपचार प्रणाली लगायत परम्परागत वैकल्पिक उपचार पद्धति, आम्ची उपचार पद्धति, होमियोप्याथी आदिलाई आधुनिक चिकित्सा पद्धतिसँग एकीकृत गर्ने। योग विज्ञान र प्राकृतिक चिकित्सा विकासका लागि पूर्वाधार निर्माण गर्ने।

१०. स्वास्थ्य क्षेत्रमा विद्युतीय प्रविधिको प्रयोगलाई विशेष महत्व दिने।

११. नेपाल पक्ष भएका स्वास्थ्य र वातावरण सम्बन्धी महासन्धिहरुको प्रभावकारी कार्यान्वयन गर्ने।

प्रकाशित मिति: २०२२-११-०६ , समय : ०७:३२:३६ , २ वर्ष अगाडि