रेडियो गौशाला , १६२८ पटक हेरिएको
२०८१ आश्विन २९, मंगलवार ०७:३१
भारतले क्यानडाबाट आफ्ना उच्चायुक्त सञ्जय कुमार वर्मा र अन्य कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
क्यानडामा सिख नेता हरदीप सिंह निज्जरको हत्याको विषयलाई लिएर भारत र क्यानडाबीच तनाव बढ्दै गएका बेला भारतले उच्चायुक्त वर्मा र अन्य ६ जना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
यसका लागि भारतले दिल्लीमा रहेको क्यानडाको उच्चायोगलाई पत्र समेत पठाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यसैबीच, भारतले ६ जना क्यानडाका कूटनीतिज्ञ पनि निष्कासन गरेको छ । भारतीय विदेश मन्त्रालयले उनीहरुलाई १९ तारिखको राति १२ बज्नु अघि भारत छोड्न भनेको छ ।
सिख नेता निज्जरको गएको वर्ष क्यानडामा गोली हानी हत्या भएको थियो । उहाँको हत्यामा भारत सरकारका जासुसहरुको संलग्नता रहेको भन्ने क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडोको बयानले २ देशबीचको सम्बन्ध तनावपूर्ण हुँदै गएको हो । भारतले क्यानडाको कूटनीतिक सञ्चारलाई पूर्ण रूपमा अस्वीकार गर्दै कडा प्रतिक्रिया दिएको खबरमा उल्लेख छ ।
क्यानडनले निज्जरको हत्यामा भारतीय सरकारका जासुसहरू संलग्न रहेको आरोपसहित छानबिन गरिरहेको बताएको छ । यसअघि भारतले निज्जरलाई आतङ्कवादी भन्दै आएको थियो । तर, निज्जरका समर्थकहरूले यसलाई पूर्ण रूपमा अस्वीकार गर्दै आएका छन् ।
प्रकाशित मिति: २०२४-१०-१५ , समय : १०:४३:५७ , ३ हप्ता अगाडि