महोत्तरीको भंगहामा हतियारधारीको आक्रमणमा परी एक घाइते

रेडियो गौशाला , ३५३५  पटक हेरिएको

महोत्तरी – महोत्तरीको भंगहामा हतियारधारी समूहको आक्रमणमा परी एकजना घाइते भएका छन् ।

घाइते हुनेमा भंगहा नगरपालिका –४ रामनगर विर्ताका ४५ वर्षीय रामबाबु महतो रहेका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए । डिएसपी जयसवारका अनुसार आज बिहान ५ बजे उनीमाथि तीनजनाको हतियारधारी समूहले आक्रमण गरेका हुन् ।

तरबारको आक्रमाणले शरीरको दुई ठाउँमा घाउ लागेको छ । उनी स्थानीय चिया पसले हुन् । चिया पसल खोलिरहेको बेला अचानक उनीमाथि आक्रमण भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनास्थलाटबाट एउटा मोटरसाइकल, तरबारको खोल बरामद भएको छ । मोटरसाइकलमा आएका हतियारधारीले अचानक तरबार प्रहार र एक राउन्ड गोली समेत प्रहार गरेको प्रत्यक्षदर्शीले दाबी गरेका छन् । यद्यपि गोली उनलाई नलागेको स्थानीयको दाबी छ ।

गोली चलेको कुरा एकिन नभएको डिएसपी जयसवारको भनाइ छ । उनीमाथी आक्रमणमा संलग्न रहेका तीनै जनाको पहिचान भईसकेको र उनीहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-११-०२ , समय : १८:२२:२४ , १ महिना अगाडि