आजबाट नेपाली क्रिकेटको महाकूभ्म एनपिएल सुरु हुँदै, विराटनगर र जनकपुर भिड्दै

रेडियो गौशाला , ४०२  पटक हेरिएको

गौशाला- नेपाली क्रिकेटको महाकूभ्म सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) शनिबारदेखि सुरू हुँदैछ।

आठ फ्रेन्चाइज टोली सम्मिलित एनपिएलको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा उद्घाटन खेल सवा १२ बजेदेखि सुरू हुँदैछ।

खेलअघि उद्घाटन समारोह हुनेछ । एनपिएलको ट्रफी यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराबाट सार्वजनिक गरिसकेका छन् ।

उद्घाटन खेलको सबै दस हजार टिकट सोल्ड आउट भइसकेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । उद्घाटन खेलको टिकट साधारणतर्फ ३ सय रूपैयाँ र भीआइपीतर्फ ७ सय रूपैयाँ तोकिएको थियो ।

एनपिएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्स नेटवर्कबाट हुनेछ भने डिजिटल प्रसारण एक्सन स्पोर्ट्स युट्युब च्यानलबाट हुनेछ ।

नेपालमा डिजिटल स्कोरबोर्डको प्रयोग पनि पहिलोपटक यही एनपिएलबाट सुरू हुँदैछ। एनपिएलका लागि त्रिवि मैदानमा प्यारापिट निर्माणदेखि मैदान मर्मतसम्भार गरेर आकर्षक बनाइएको छ।

उद्घाटन खेलको कुन टोली कस्तो ?

विराटनगर किंग्सको मार्की खेलाडी लेग स्पिनर सन्दीप लामिछाने छन् । आयरल्याण्डका केभिन ओ’ब्रायन मुख्य प्रशिक्षक रहेको टिममा पाँच विदेशी खेलाडी छन् ।

ओमानका अकिब इलियास, न्युजिल्याण्डका मार्टिन गप्टिल, क्यानडाका निकोलस किर्टन, स्कटल्याण्डका क्रिस सोल र अफगानिस्तानका इस्मल आलम छन् ।

नेपाली खेलाडीहरूमा लामिछानेसहित लोकेश बम,प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट र मृनाल गुरुङ छन् ।

एमडी ड्रिम्स स्पोर्ट्सको स्वामित्वमा रहेको विराटनगरका मालिक पारस लुनिया र वेंकटेश मुन्द्रा छन्। उनीहरूले विराटनगर किंग्स १ करोड ५१ लाखमा किनेका हुन् ।

जनकपुर बोल्ट्सका मार्की खेलाडी आशिफ शेख छन् । उनी राष्ट्रिय टिमका विकेटकिपर तथा ओपनर ब्याट्सम्यान हुन् ।

जनकपुरमा आशिफसँगै सिनियर राष्ट्रिय टोलीका विकेटकिपर ब्याट्सम्यान अनीलकुमार साह र स्पिनर ललित राजवंशी छन् ।

त्यस्तै यू-१९ टोलीका कप्तान हेमन्त धामी पनि बोल्ट्समै छन् । उनी यू-१९ एसिया कप खेल्न युएईमा छन्। अन्य खेलाडीहरुमा रूपेश सिंह,किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, अरनिकोप्रसाद यादव, तुलबहादुर थापा मगर छन् ।

जनकपुरमा ६ जना विदेशी खेलाडी छन् । न्युजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रम्प, इंग्ल्याण्डका बेन माइक, पाकिस्तानका मोहमद मोहसिन, अमेरिकाका लाहिरू मिलन्था र क्यानडाका हर्ष थाकर छन् ।

टोलीको मुख प्रशिक्षकमा पुबुदु दासानायके छन् । उनले नेपाली राष्ट्रिय टिममा मुख्य प्रशिक्षकको भूमिका निभाइसकेका छन् । जनकपुरलाई ड्रिम स्पोर्ट्स प्रालिले २ करोड ५ लाख रूपैयाँमा खरिद गरेको थिए ।

उद्घाटन खेल हेर्न त्रिवि मैदानमा दस हजारभन्दा बढी क्रिकेटप्रेमीहरूको उपस्थिती रहनेछ ।

प्रकाशित मिति: २०२४-११-३० , समय : १०:४७:५५ , ५ दिन अगाडि