मधेशमा लोप हुनथाले हुक्कालोली

रेडियाे गाैशाला , २२८२  पटक हेरिएको

महोत्तरी- आफ्ना मृत पितृलाई आगोको मुस्लोले स्वर्ग जाने बाटो देखाउने परम्पराको रुपमा दीपावलीका दिन तराई– मधेशमा मनाइने हुक्कालोली पर्व लोप
हुन थालेको छ ।

सम्पूर्ण मधेशको पौराणिक तथा सांस्कृतिक पहिचान भएको हुक्कालोली आधुनिकतासँगै लोप हुन थालेको हो । महोत्तरी लगायत मधेशभरि पितृकार्यका निमित्त गरिने धार्मिक मान्यतालाई अहिलेका पुस्ताले मनोरञ्जनका रुपमा लिन थालेकाले हुक्कालोली नचाउने कार्य लोप हुन थालेको बताइएको छ ।

महोत्तरीको सहरी र ग्रामीण क्षेत्रमा बालकदेखि वृद्धसम्म पहिला हुक्कालोली नचाउने गरिन्थ्यो तर आधुनिक युगमा प्रवेश गरिसकेपछि यसलाई मनोरञ्जनको रुपमा सहरी र ग्रामीण क्षेत्रका गाउँमा फाँटफुट रुपमा युवा हुक्कालोली नचाउने गरिन्थ्यो ।

साथै ठूलठूला आवाजका पटाका र झिलिमिली बत्तीले पनि यो परम्परलाई विस्थापन गर्दै लगेको छ । स्कन्दपुराणमा उल्लेख भएअनुसार मधेशमा पितृलाई बाटो देखाउन र पितृको आत्माको शान्तिका निम्ति लक्ष्मी पुजाका राति हुक्कालोली नचाउने गरिन्थ्यो तर यसलाई अव व्यावसायिक रुप दिएर फलामको तारमा पुरानो झुत्रोको कपडा बाँधेर एउटा डल्लो बनाउने र त्यसमा मटितेलले भिजाइ आगो सल्काएर नचाइ मनोरञ्जन लिने गरिन्छ ।

यसका अलावा झिलिमिली बत्ती र पटाकाले पनि यस परम्परालाई असर पुर्‍याएको छ । विगतमा हुक्कालोली नचाउने कार्यमा बालक देखि वृद्धसम्म सहभागी हुने गर्दथे तर अहिलेका पुस्ताले यसलाई छाडेर बम, पटाका र झिलिमिली बत्तीमा पल्केपछि यो परम्परा हराएको हो ।

मधेशमा पितृको सम्मान र परम्पराको रुपमा मनाइने हुक्कालोली नचाउने कार्यलोप हुन थालेपछि सांस्कृतिविद्हरुलेले यसलाई संरक्षण गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

प्रकाशित मिति: २०२२-१०-२५ , समय : ११:२०:१६ , २ वर्ष अगाडि