आज कमला नदीमा भूतमेला, भक्ताहरुको भीड

रेडियो गौशाला , २६५०  पटक हेरिएको

फोटो स्रोत : बाबु प्रेम यदुवन्शी

जनकपुरधाम । प्रत्येक वर्ष कार्तिक पूर्णिको दिन कमला नदीमा लाग्ने भव्य मेला यसपाली अधिक घुईंचोको साथ लागेको छ ।

धनुषा र सिरहाको सीमामा पर्ने कमला नदीमा मँगलबार (आज) बिहानैदेखि धामीझाँक्री, बोक्साबोक्सी र भूतप्रेतबाट पीडितको घुँइचो लागेको छ ।

धनुषातर्फको कमला नगरपालिका, जनकनन्दिनी गाउँपालिका र सबैला नगरपालिका क्षेत्रभित्र पर्ने कमला नदीको किनारमा भव्य मेला लागेको छ । कार्तिक पूर्णिमा स्नानको लागि देशको विभिन्न जिल्लासहित भारतबाट समेत कमला स्नानको लागि कमला नदी पुगेका छन् ।

नगरपालिकास्थित कमला नदीमा स्नान र भूत मेला भर्न मंगलबार बिहानैदेखि श्रद्धालुको ठूलो घुइँचो लागेका छन्। साथै यी स्थानीय तहहरुमा आज एक दिने सार्वजनिक विदा समेत दिएको हो ।

कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ गाउँगाउँबाट भूतमेला भर्न कमला नदीमा श्रद्धालुको घुँइचो लागेको हो ।

सूर्योदयसँगै आज बिहानैदेखि हजारौँ नव धाँमीझाँक्रीले कमला नदीमा डुबुल्की लगाई गुरुसँग शपथ लिइरहेका छन् ।

कमला नदी किनारमा भगत ९देउता० खेल्नेको घुइँचो लागेको छ । आफ्नो शरीरमा बास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायीबासका लागि कात्तिक पूर्णिमामा स्नान गर्ने प्रचलन रहेको छ ।

कतिपयले कात्तिक पूर्णिमाको पूर्वसन्ध्यामा सोमबार कमला नदीको तटमा पुगेर राति बास बसेका र आज बिहानै कमला नदीमा स्नान गरेका श्रद्धालु बताएका छन् ।

कमला नदीमा स्नान गरिए कमलेश्वरी देवीले तान्त्रिक विद्याको बर दिने तथा योग पाको हुने जनविश्वासका कारण वर्षेनी सो नदीमा स्नान गर्नेको सङ्ख्या अत्यधिक रहने गरेका छन् ।

भूतमेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदी र गङ्गासागरको शुद्ध पानी आआफ्नो घर लैजाने गर्छन् । मूलधाँमीले मन्त्र सिद्धी गरिदिएपछि धाँमी बन्ने प्रक्रिया पूरा हुन्छ । तन्त्रशास्त्रका अनुसार तन्त्रसिद्धीका लागि यस दिन पूर्णाहुती दिने चलन छ ।

कमला नदीमा आएर शपथ लिएपछि धामीझाँक्री पाको हुने विश्वास गरिन्छ । धनुषा लगायत भारतसहित सिरहा, महोत्तरी, सर्लाही, सप्तरीलगायतका ठाउँबाट लावालस्करका साथ उफ्रँदै आएका धामीझाँक्रीले तन्त्रमन्त्र गरेको दृश्य हेर्न निकै ठूलो भीड लाग्ने गर्दछ ।

प्रकाशित मिति: २०२२-११-०८ , समय : ०८:११:४७ , १ वर्ष अगाडि