यू-१९ महिला विश्‍वकपको दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै

रेडियो गौशाला , १०८७  पटक हेरिएको

काठमाडौं- आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप २०२५ को आफ्नो दोस्रो खेलमा नेपालले सोमबार स्कटल्याण्डसँग खेल्दै छ ।

नेपाल र स्कटल्याण्डबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरू हुनेछ । नेपालको कप्तानमा पुजा महतो तथा स्कटल्याण्डको कप्तानमा नियाम मुइर छन् ।

नेपालले पहिलो खेलमा बंगलादेशसँग हार व्यहोरेको थियो । उक्त खेलमा नेपालको ब्याटिङ राम्रो हुन सकेको थिएन । त्यसैगरी स्कटल्याण्डले पनि पहिलो खेलमा बलियो टोली अस्ट्रेलियासँग ९ विकेटको हार व्यहोरेको थियो । यस्तोमा यस खेल दुवै टोलीका लागि महत्वपूर्ण रहनेछ ।

नेपाल बंगलादेशसँग ५२ रनमा तथा स्कटल्याण्ड अस्ट्रेलियासँग ४८ रनमा अलआउट भएको थियो । दुवै टोलीले यस खेलमा सुधारिएको ब्याटिङ गर्ने अपेक्षा राख्ने छन् ।

नेपालले महिला क्रिकेटमा त्यसमाथि पनि यू-१९ स्तरमा स्कटल्याण्डसँग खेल्न लागेको यो पहिलोपटक हो । यसअघि पनि विश्‍वकप खेलिसकेको स्कटल्याण्ड छनोटबाट आएको टिम हो । त्यसकारण नेपाल र स्कटल्याण्डको स्तर एउटै हुनेछ ।

सोमबार स्कटल्याण्डसँग खेल्दै गर्दा नेपालको नजर सुपर सिक्समा रहनेछ । स्कटल्याण्डलाई हराए नेपाल सुपर सिक्समा पुग्न बलियो सम्भावना रहनेछ । यही अवस्था स्कटल्याण्डका लागि पनि हुनेछ ।

सोमबार पनि ओभरकास्ट कन्डिशन हुने भएकाले यस खेलमा पनि टस जित्ने टिमले बलिङ रोज्दा फाइदा हुनेछ ।

आजका खेलहरू :

अमेरिका यू-१९ महिला भर्सेस् आयरल्याण्ड यू-१९ महिला : विहान ८:१५
अस्ट्रेलिया यू-१९ महिला भर्सेस् बंगलादेश यू-१९ महिला : विहान ८:१५
न्युजिल्याण्ड यू-१९ महिला भर्सेस् नाइजेरिया यू-१९ महिला : विहान ८:१५
बंगलादेश यू-१९ महिला भर्सेस् नेपाल यू-१९ महिला : दिउँसो १२:१५
पाकिस्तान यू-१९ महिला भर्सेस् इंग्ल्याण्ड यू-१९ महिला : दिउँसो १२:१५
दक्षिण अफ्रिका यू-१९ महिला भर्सेस् सामोआ यू-१९ महिला : दिउँसो १२:१५

प्रकाशित मिति: २०२५-०१-२० , समय : ०७:१०:१२ , ४ हप्ता अगाडि