जनताले मलाई बालेनको रुपमा देख्न चाहेका छन् : प्रमोद महतो

रेडियो गौशाला , ७६१  पटक हेरिएको

महोत्तरी। महोत्तरी क्षेत्र नं १(ख) बाट प्रदेशसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार प्रमोद कुमार महतोले यहाँका जनताले आफूलाई बालेनको रुपमा देख्न चाहेको बताएका छन् । दलका नेताहरुबाट प्रताडित भएका तमाम जनताले आफूलाई बालेनको रुपमा उदाएका देख्न चाहेको बातएका हुन् ।

‘मेरो उम्मेदवारीलाई मतदाताहरुले प्रशंसा गरिरहेका छन् । एक किसिमको छुट्टै उत्साह देखिएको छ । मतदाताको उत्साह र स्नेहले हौसला बढ्दै गएको छ,’ महतोले भने ।

भ्रष्टाचार प्रवृतिको अन्त्य, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनजस्त क्षेत्रमा मास्टर प्लान बमोजिमको विकासको काम गर्ने आफ्नो पहिलो प्राथमिकतामा रहेको महतोले उल्लेख गरे । दिनप्रतिदिन आफ्नो पक्षमा जनलहर बढ्दै गइरहेको उनले दावी गरे ।

देशको अर्थतन्त्र सिमित व्यापारी र भ्रष्ट नेताहरुको चंगुलमा जकडिएकोले आफूजस्ता स्वतन्त्रलाई मतदान गर्नु अहिलेको आवश्यकता रहेको उनले दावी गरे । उनले स्वास्थ्य, शिक्षा, खानेपानी, सुरक्षा, रोजगारी र जनतामा सुशासनको पूर्ण रुपमा अनुभुती दिने संकल्प बोकेर चुनावी मैदानमा उभिएको बताए ।

दलका उम्मेदवारहरुले विकासका कार्यहरु केवल निर्वाचनका एजेण्डाकै रुपमा राखेर सधै चुनाव जित्ने दाउपेचमै सिमित राखेको उनको दावी छ ।

उनले देश जालझेल, राजनैतिक वितण्डा, भ्रष्टाचार, बलात्कार, कालाबजारी, बेरोजगारी र कमिशन जस्ता जघन्य अपराधिक गतिविधिबाट आक्रान्त बेनको औल्याए ।

‘जनता बेरोजगारी, महंगी र असुरक्षाबाट जीवन यापन गर्न बाध्य छन् । देशको अर्थतन्त्र सिमित व्यापारी र भ्रष्ट नेताहरुको चंगुलमा जकडिएको छ । यो बिकराल स्थितिबाट देश र जनतालाई उन्मुक्ती दिनका लागि देशै भरीबाट पढेलेखेका, योग्य, सक्षम र स्वतन्त्र युवा नेतृत्वले आफ्नो उपस्थिति देखाउनु आफैमा आशातित क्षण हो,’ महतोले भने ।

आफूमाथि जनताको ठूलो भरोसा र विश्वास रहेकोले आफ्नो विजयी सुनिश्चित रहेको उनले दावी गरे ।

प्रकाशित मिति: २०२२-११-१५ , समय : ०७:५७:१५ , २ वर्ष अगाडि