बिहिबारदेखी ७२ घण्टा महोत्तरीको सिमानाका बन्द हुने

रेडियो गौशाला , १२१३  पटक हेरिएको

बिबेक कुमार महतो, गौशाला । भारतसँग सीमा जोडिएको महोत्तरी जिल्लाकासम्पूर्ण सीमा नाका मंसिर १ गतेदेखि बन्द हुने भएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर मंसिर १ गतेदेखि सीमा नाका बन्द गर्न लागिएको हो ।
महोत्तरीका सहायक जिल्ला प्रमुख अधिकारी उपेन्द्र न्यौपानेले सूचना जारी गर्दै निर्वाचनलाई स्वच्छ, पारदर्शि तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न सीमा नाका बन्द गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् ।

मंसिर १ गते रातको १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म सम्पूर्ण सीमा नाका बन्द रहने उनले बताए । भारतीय सुरक्षा निकायसँग बैठक गरेर यसअघि नै निर्वाचन सुरक्षाका लागि ७२ घण्टा सीमा सिल गर्ने निर्णय भएको छ ।

साथै, मंसिर ३ गते रातको १२ बजेदेखि मंसिर ४ गतेका दिन मतदान कार्य सम्पन्न नहुञ्जेलसम्म एम्बुलेन्स, खानेपानी टयाङ्कर, दमकल, दुरसञ्चार सेवा, शव बहान, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कुटनीतिक नियोगको सवारी साधन र अनुमति प्राप्त सवारी साधन बाहेकका सवारी साधन सञ्चालनमा निषेध गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति: २०२२-११-१६ , समय : १०:५१:४० , २ वर्ष अगाडि