रेडियो गौशाला , १६२९ पटक हेरिएको

जनकपुरधाम – रौतहटका पत्रकार रविन्द्र प्रजापतिले आत्महत्या गरेका छन्। कटहरिया नगरपालिका–५ निवासी अन्दाजी ३० वर्षीय पत्रकार प्रजापति शनिबार बेलुका आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेका थिए।
झुन्डिएको पासो काटेर परिवारले उनलाई अस्पताल पुर्याएका थिए, तर अस्पतालले उनलाई मृत घोषणा गर्यो। इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार प्रजापतिको शव पोस्टमार्टमका लागि गौर अस्पतालमा राखिएको छ।
प्रजापति गरुडा म्युजिकल एफएममा कार्यरत थिए, जहाँ उनी समाचार लेख्ने र पढ्ने काम गर्थे। केही दिनअघि कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जयसवालले खानेपानी समस्या सम्बन्धी समाचार लेखेको कारण उनलाई धम्की दिएका थिए। मेयरको धम्की र गालीगलौजका कारण प्रजापति तनावमा थिए र डरले घरबाट बाहिर निस्कन पनि सकेका थिएनन्।

स्थानीयहरूले पत्रकार प्रजापतिको आत्महत्याको मुख्य कारण मेयर जयसवालको धम्की रहेको बताएका छन्। प्रेस चौतारी रौतहट शाखाले जेष्ठ २९ मा विज्ञप्ति जारी गर्दै मेयरले दिएको धम्कीबारे छानबिन गरी दोषीलाई कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेको थियो।
तर, गरुडाका डिएसपी राजन कार्कीले मेयरले धम्की दिएको विषयमा आफूलाई थाहा नभएको बताएका छन्। घटनाको अनुसन्धान भइरहेको जानकारी पनि उनले दिएका छन्।
प्रकाशित मिति: २०२५-०७-२० , समय : ०९:३१:३३ , २ दिन अगाडि