मधेश : डाँका मुद्दामा फरार व्यक्ति ८ वर्षपछि कारागार चलान

रेडियो गौशाला , ५६५  पटक हेरिएको

सप्तरी- डाँका मुद्दामा फरार प्रतिवादीलाई कैद भुक्तानका लागि शुक्रबार कारागार चलान गरिएको छ ।

आठ वर्षदेखि फरार रहेका जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्बर ६ बस्ने ३८ वर्षीय सञ्जिवकुमार चौधरीलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको हो ।

डाँका गरी फरार भएकोमा सप्तरी जिल्ला अदालतले १७ असार २०७१ मा उनलाई दोषी ठहर गर्दै तीन वर्ष कैदको फैसला सुनाएको थियो ।

प्रहरीले उनलाई पक्राउ गरी सप्तरी जिल्ला अदालतमा उपस्थित गराउँदा कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए ।

प्रहरीका अनुसार चौधरीले १३ भदौ २०६६ मा राति डेढ बजेको समयमा गोसाईं चौधरीको घरभित्र प्रवेश गरी नगद, सुनचाँदीका गरगहना तथा जिन्सी धनमाल घरेलु हातहतियार देखाएर डाँका गरी फरार भएका थिए ।

प्रकाशित मिति: २०२३-०१-१४ , समय : ०७:१८:१५ , १ वर्ष अगाडि